काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी गरेका छन्।
आइतबार पत्रकारहरूसँग छलफल गर्दै मन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताए।
‘अर्थ मन्त्रालयमा प्रस्ताव गएको छ। त्यहाँबाट स्वीकृति भएपछि भुक्तानी हुनेछ। हामीलाई पनि निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा अप्ठ्यारो हुने अवस्था थियो। अब त्यो अवस्था हट्छ,’ उनले भने।
निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारले काम गरेको भुक्तानी नदिएको भन्दै गुनासो गर्दै आएका छन्। उनीहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई पटक पटक ध्यानकर्षण गराउँदै आएका छन्।
सरकारले असार मसान्तसम्म काम सम्पन्न भइसकेको र बिल उठिसकेको ६ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ।


