निश्चिय पनि अहिलेका ठुला राजनीतिक दलमा गगन थापा पर्याप्त सम्भावना भएका नेता हुन्। उनमा राजनीतिक सुझबुझ र परिपक्वता छ। प्रतिबद्धता र निरन्तरता पनि। तर उनी चर्चा, आलोचना, सुझाव र प्रश्नभन्दा माथि हुन् त?
आउनुहोस्, हालैका केही सन्दर्भ र विषयवस्तुलाई केन्द्रमा राखेर कांग्रेस महामन्त्री तथा सांसद गगन थापाबारे मतमन्थन गरौँ।
सबैभन्दा पहिला बिर्सनै नहुने कुरा के हो भने, गगन अहिले सदनमा शक्तिशाली दल नेपाली कांग्रेसका विधायक र सरकार सञ्चालन गरिरहेको सत्ताधारी दलका एक प्रभावशाली नेता हुन्। एमाले नेतृत्वलाई सघाइरहेको नेपाली कांग्रेसका तर्फबाट सरकार सञ्चालन र कतिपय निर्णयहरुका सन्दर्भमा उनी आफ्नो दल कांग्रेसका तर्फबाट सक्रियता देखाइरहेका छन्।
सभापति शेरबहादुर देउवाले उनलाई त्यो ‘स्पेस’ र भूमिकाका लागि सहज परिस्थिति बनाइदिएको कहीँ-कतै छिपेको छैन। जस्तोः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि त्यसको तयारी र रणनीतिका लागि सत्ताधारी दुई दलबीचका बैठकमा उनी सक्रिय देखिए। शीर्षस्थ नेताहरुबीच बैठकमा उनले विषयवस्तु ‘ब्रिफिङ’ गरेका खबरहरु पढियो/सुनियो।
यसको अर्थ हो– अहिले गगन थापा दलका तर्फबाट मात्र होइन, भूमिकाका हिसाबले पनि ‘चौविस क्यारेट’ सत्ताधारी हुन्। सदनमा नयाँ नीति बनाउन सक्ने ल्याकत र सरकारका निर्णयहरुलाई प्रभावित पार्नसक्ने उनै सत्ताधारी नेताले काठमाडौंको कीर्तिपुर पुगेर दिएको एउटा अभिव्यक्ति सामाजिक सञ्जालमा अहिले चर्चाको विषय बनिरहेको छ। कतिपय विरोधीहरुले त्यसलाई स्तरहीन ‘ट्रोल’का रुपमा सतहमा ल्याएका छन्। कतिपयले भने नरम र व्यङ्ग्यात्मक शैलीमा ‘गगनले बोलेको अलिक पाच्य भएन’ भनिरहेका छन्। उनका समर्थकहरुको ‘न्यारेटिभ’ त अलग्गै भयो। एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यहाँ ‘नेपालमा इन्फरमेशन टेक्लोलोजी (आईटी) को सम्भावना रहेको र युवाहरुले यसबाट लाखौं–लाख आम्दानी गर्नसक्ने’ भन्दै एउटा सम्भावनाको कुरा गरेका थिए। अभिव्यक्तिका सन्दर्भमा उनले भनेका थिए– ‘यही कीर्तिपुरकै डाँडामा बसेर हाम्रा युवाहरुले लाखौँलाख कमाउन सक्छन्।’
आईटीवृत्तलाई छेउकुनाबाट मात्रै जानेबुझेका लागि गगनले बोलेको कुरा रत्तिभर अस्वाभाविक लाग्दैन। सामान्य हिसाबले हेर्दा उनको अभिव्यक्तिप्रति विमत हुने ठाउँ पनि छैन। तर गगन थापा राजनीतिक रुपमा भने यो ‘स्टेटमेन्ट’सहित प्रश्नको घेरामा पर्छन्।
हिजोका गगन थापा अलग थिए होलान्, तर अहिलेका गगन केवल कोरा सपना र सम्भावनाका कुरा गरेर मात्र जिम्मेवार र जवाफदेही हुँदैनन्।
प्रश्न के हो भने- हामीकहाँ सत्ताको राजनीतिक भाषाबारे अत्यन्तै थोरै बहस भएको छ। सत्ताधारीले सार्वजनिक सभा–समारोहमा बोल्ने विषयवस्तु के-कस्ता हुनुपर्छ? तीनका अन्तर्यको अनुशासन र जवाफदेहीता के हो? यो कुरा राजनीतिक मूल्य र मानकहरुसँग जोडिन्छ। सत्ताधारी नेताहरुले जनतालाई सधैं कहीँ कतै दर्ज नभएका कोरा योजना र काल्पनिक रुपरेखा बाँढ्ने हो कि सरकार र सदनमा भइरहेका प्रगतिबारे जानकारी दिने हो? आफ्ना सत्प्रयासलाई प्रकटीकरण गर्ने हो? अझ यसलाई बुझिने गरी भनौं, सरकार चलाइरहेको दलको नेताले ‘हामीले यो काम गर्दैछौं, अथवा हामीले यो गर्यौ’ भन्ने हो कि ‘यहाँ यो सम्भावना छ, यसो गर्न सकिन्छ, उसो गर्न सकिन्छ’ भनेर एउटा सम्बन्धित क्षेत्रको सिकारु व्यवसायीले बोल्ने भाषा बोलेर भुलभुलैयामा पार्ने हो?
सरकार सञ्चालन गरिरहेको एउटा साझेदार दलको प्रभावशाली नेताले आईटीका विषयमा बोल्नुपर्दा बोल्नुपर्ने चाहिँ के हो भने, ‘आईटीमा देखिएको सम्भावनालाई दृष्टिगत गरी हामी यो विधेयकका लागि काम गरिरहेका छौँ। यो नीतिमा काम गरिरहेका छौँ। यसको प्रगति यस्तो छ। अथवा, हामीले सघाइरहेको सरकारले आईटी क्षेत्रमा युवाहरुको रोजगारीका लागि यो निर्णय गरेको छ।’
हिजोका गगन थापा अलग थिए होलान्, तर अहिलेका गगन केवल कोरा सपना र सम्भावनाका कुरा गरेर मात्र जिम्मेवार र जवाफदेही हुँदैनन्। सत्ताधारी कांग्रेसको महामन्त्री, सदनभित्र झण्डै झण्डै दुई तिहाइको गठबन्धन–गणितभित्रको एक प्रभावशाली सांसदले आफ्ना भनाइहरुमा राजनीतिक अर्थ र अनुशासन देखाउनुपर्छ। त्यो तहको जवाफदेहितामा सन्देह सृजना भयो भने निश्चित रुपमा प्रश्न उठ्छ। उठाइनु पनि पर्छ।
कुरा गगनको मात्र होइन, सबै सत्ताधारीहरुको भाषा र राजनीतिक अनुशासनको हो। आज कीर्तिपुर पुगेर आईटीसम्बद्ध सम्भावनाको कुरा गर्ने, भोलि कीर्तिपुर नै पुगेर खेल र खेलाडीबारे अर्को सम्भावनाको दन्त्यकथा सुनाउने र अर्को दिन कुनै सन्दर्भमा कीर्तिपुर विश्वविद्यालय परिसर पुगेर ‘वर्षौंदेखि गुणस्तरीय शिक्षा किन भएन’ भन्दै उही प्रश्न गर्ने सत्ताधारीहरुका भाषा र व्याख्याबाट जनता आजित छन्। सशंकित छन्।
गगन थापा राजनीतिका यस्ता पात्र हुन्, जसले ०६२–०६२ देखि आजसम्म निरन्तर शंकाको लाभ पाइरहेका छन्। यसमा उनको राजनीतिक योगदान, हिजोको भूमिका र उनले बनाएको छबीले काम गरेको छ। तर राजनीतिक उन्नयनको यात्रामा उनी आज यस्तो नेटोमा आइपुगेका छन्, जहाँ उभ्भिएर हिजो यात्रामा गरेका प्रश्नहरुको जवाफ आफैंले दिनुपर्ने छ। सत्ताको जवाफदेहिता केवल काममा मात्र अन्तर्निहित हुन्छ। केवल प्रगति र प्रतिफलमा मात्र जोडिएको हुन्छ। त्यसैले सत्ताधारीका रुपमा उभ्भिएर बोल्दा गगन थप होसियार हुन जरुरी छ।
त्यसो त, नेपाली कांग्रेसभित्र पनि महामन्त्री गगन थापाको पछिल्लो भूमिका, मान्यता र समूहगत जोडघटाउबारे विस्तारै चासो बढ्न थालेको छ। पार्टीभित्र मात्र होइन, पार्टी इतर पनि आउँदो महाधिवेशनमा उनको ‘स्ट्यान्ड’ र रणनीति कस्तो होला भन्दै त्यसका लागि उनले गरिरहेका राजनीतिक अनुक्रम र अभ्यासहरुको अर्थ केलाउन थालिएको छ।
सर्वत्र यति चासो भएको नेताले सत्ताधारीका रुपमा सत्ताधारीकै जवाफदेहिता देखाइदेऊन् भन्ने अपेक्षा स्वाभाविक हो।



