काठमाडौँ- पर्सा जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।
लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई पक्राउ गर्न पर्सा अदालतले बुधबार अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालका अनुसार रवि र छविसहितलाई पर्सास्थित सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा पक्राउका लागि अनुमति अदालतले दिएको हो।
जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो। त्यसमध्ये सानो पाइला पनि एक हो।
लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध-निर्देशक हुँदा सानो पाइलबाट गोर्खा मिडियामा रकम गएको थियो। उक्त रकम रविले खर्च गरेका थिए। सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन्। हाल रवि उनी आफू नै निर्वाचित भएको क्षेत्र पर्ने जिल्ला चितवनमा छन्।
बुधबार उनीसँग चितवन सरकारी वकिलको कार्यालयले बयान लिइरहेको समयमा उनका समर्थकले भने बाहिर प्रहरीमाथि ढुंगामुडा वर्षाएका थिए। त्यसपछि प्रहरीले पानीको फोहरा प्रहार गरी भिडलाई नियन्त्रणमा लिएको थियो। झडपमा परी ४० जना भन्दा बढी घाइते भएका छन्।
यसअघि रविले कास्की, रुपन्देही र काठमाडौँ जिल्लाका सरकारी वकिलको कार्यालयलाई पनि बयान दिएका छन्। ती जिल्लाका सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सांसद सूर्य थापाको सभापतित्वमा बनेको समितिमा रास्वपासहितका दलको सहभागितामा समिति बनेको थियो। समितिको प्रतिवेदनले रविमाथि अनुसन्धान गरी कारबाही चलाउन सिफारिस गरेको थियो।


