काठमाडौँ– नेपाली कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौतामा उल्लेख भएको शब्द ‘एड फाइनान्सिङ’को अर्थ अनुदान नै भएको जिकिर गरेको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो।
प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको र बैठकले ‘एड फाइनान्सिङ’लाई अनुदान नै भएको ठहर गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको महतको थियो।
‘प्रधानमन्त्री फर्केपछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ,’ उनले प्रधानमन्त्रीतर्फ प्रसंग मोड्दै भने।
‘ग्रान्ट फाइन्नासिङ नभएर एड फाइन्नासिङ आयो भनेर सार्वजनिक रुपमा जुन चर्चा भएको छ। एड फाइन्नासिङमा ग्रान्ट स्वभाविक रुपमा पर्ने भइहाल्यो,’ महतको भनाइ छ। परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने महतको भनाइ छ।
उनले पोखरा विमानस्थल बनाउँदा चीनबाट लिएको ऋण आफूहरुका लागि अत्यन्त नराम्रो अनुभव भएको उल्लेख गरे। ‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौं,’ महतको भनाइ थियो।


