काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमसँग फोनमा रमाइलो कुराकानी भएको सुनाएका छन्। ओलीका अनुसार उक्त किस्सा आजै भएको हो।
आफूलाई राजेश ब्रजाचार्य (प्रधानमन्त्री ओलीका स्वकिय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीको भनाइ छ। एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएकोसमेत उनले बताए।
यस्तो छ ओलीले सुनाएको वामदेव किस्साः
‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो। फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ। कुरा गर्दै गइयो। उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ… कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर… सबै मेरै स्वरमा छ। कुराको अन्तिममा त… तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ। यस्तो भनेर पड्किनुभो। हस् हजुर भनेँ। अब के भन्नु। हस् म भन्दिउँला भनेँ। फोन राखेँ।
उहाँलाई समेत भ्रम पर्ने गरी…भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म …त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं। अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ। उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन। कांग्रेस र मेरोबीचमा लडार्इं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला।


