काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्व सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताए।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ बजे निधन भएको थियो।


