काठमाडौं- भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा भारत र कुवेत रहेको समूहमा नेपाल पनि परेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा आगामी जुन र जुलाईमा हुने साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको हो।
बुधबार भारतको नयाँ दिल्लीमा ‘ड्र’ आयोजना गरिएको थियो। जसमा नेपाल समूह ‘ए’मा परेको हो। यो समूहमा आयोजक भारतसँगै कुवेत, नेपाल र पाकिस्तान छन्।
यस्तै ८ टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।
साफअन्तर्गत पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित भएको थियो। नेपालले अहिलेसम्म साफको उपाधि जित्न सकेको छैन। उपविजेता नै नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो उपलब्धि हो।
साफ च्याम्पियनसिपमा पहिलो पटक दक्षिण एसियाबाहिरका दुई टिम कुवेत र लेवनानलाई बोलाइएको छ। साफ सदस्य देशको स्तर बढाउने भन्दै साफले पहिलो पटक दक्षिण एसियाबाहिरका टोलीलाई पनि खेलाउने निर्णय गरेको हो।
नेपालले पहिलो खेलमा नै कुवतेसँग भिड्ने भएको छ। आउँदो असार ६ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने गरी ड्र तय भएको छ।
बैंगलुरुको श्री कान्तीराभा रंगशालामा नेपाली समयअनुसार अपराह्न ३:४५ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ। यता नेपालले विश्वकप र एसिया कप छनोटमा कुवेतसँग दुई पटक खेलिसकेको छ। तर नेपालले बलियो टिम कुवेतविरुद्ध जित निकाल्न सकेको छैन।
यो साफमा श्रीलंकाले भने सहभागीता जनाउने छैन। श्रीलंका फुटबल फिफाको निलम्बनमा छ।


