काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तामा देखाउने र चपाउने दाँत भिन्नै भएको टिप्पणी गरेका छन्।
माओवादी केन्द्रको आइतबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ बैठकमा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चन्दा र कमिसनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन।’
पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको पनि उनले बताए। पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताएका थिए।
केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भनेका छन्।
प्रचण्डले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा १/१ महिने अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन्।


