काठमाडौँ – संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ।
बिहीबारको बैठकमा जनसंख्याविद् दामोदर ज्ञवालीले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन्। यस्तो प्रावधान संघीय निजामती सेवा एनमा राख्न उनले सुझाव दिएका हुन्।
संघीय निजामती सेवा विधेयकमाथि राज्य व्यवस्था समितिमा दफावार छलफल चलिरहेको छ।
बिहीबारको बैठकमा समितिले विधेयकबारे जनसंख्याविद्हरूलाई छलफलमा बोलाएको हो। जहाँ जनसंख्याविद्को रूपमा उपस्थित पूर्वनिजामती कर्मचारी ज्ञवालीले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर प्रस्ताव गरेका हुन्।
‘स्नातकोत्तर गरेकालाई मात्रै अधिकृत हुन सक्ने राखौं। सेवा प्रवेशपछि बढुवाका लागि पढिरहने अवस्था रहन दिन हुँदैन,’ उनले भने, ‘सेवा प्रवेशमा किन उमेरको सीमा तोक्ने ? यो खुला राखौं। बरु योग्यता र क्षमता तोकौं। उमेरको सीमा नराखौं।’ निजामती कर्मचारीमा सेवा प्रवेश खुला राख्न पनि उनले सुझाए।


