काठमाडौँ- नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ।
बुधबार संसद भवन नयाँबानेश्वरमा एमाले संसदीय दलले विज्ञसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदहरुलाई प्रशिक्षण दिएको हो।
सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप शसक्त रुपमा धारणा राख्ने गरी अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएपनि विपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदहरुलाई अध्यादेशका बारेमा जानकारी गराइएको उनले बताए।
‘सरकारले ल्याएका ६ अध्यादेशलाई विपक्षी दलले नकारात्मक रूपमा टिप्पणी गरेका छन्। अब ती अध्यादेश सदनमा दर्ता हुन्छन्,’ उनले भने, ‘संसदमा थप छलफल गर्छौँ।’
संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेस गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रुपमा अघि बढाउन सरकारलाई सुझावसमेत दिइएको प्रमुख सचेतक बर्तौलाले बताए।


