काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा सीके राउतले देशमा दुईदलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सरकारका पछिल्ला केही निर्णयले दुईदलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको उनको भनाइ थियो।
‘दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन। जुन किसिमका ऐनहरू अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ,’ राउतले भने।
मधेशवादी दलहरू एक हुने ठूलो सम्भावना रहेको बताउँदै उनले कांग्रेस-एमाले बाहेकका सबै दल सडकमा आउन सक्ने बताए।
‘मधेशवादी दलहरू एकत्रित हुने ठूलो सम्भवाना छ। किनभने दुई वटा ठूला दल आपसमा मिलेर सरकार बनाएका छन्। जुन कुरा लोकतान्त्रिक देशमा विरलै हुने कुरा हो,’ उनले भने, ‘मधेश केन्द्रित दलहरू मात्रै होइन, ती दुई दलहरू बाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना प्रबल देखेको छु।’


