बुटवल – बुटवलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार बिहान १० बजे बुटवलको नेपालगन्ज रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पहिचान खुल्न बाँकी एक व्यक्तिको मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई घटनास्थलदेखि नजिकै रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालले मृत घोषणा गरेको थियो।
दुर्घटना गराउने टिपर र चालक तिलोत्तमा नगरपालिका वडा नम्बर १० का ४७ वर्षीय किसमन थारूलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


