काठमाडौं– सामाजिक सञ्जालहरुमा पाथीभरा केवलकार विवादका विषयमा असम्बन्धित रुपमा ग्लोबल आइएमइ बैंकलाई जोडेर थप विवाद सृजना गर्न खोजिएपछि यसप्रति सरोकारवालाहरुको चासो देखिएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथीभरा केवलकार विवादको विषयलाई बैंकसँग नजोड्न आग्रह गरेका छन्।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुखसमेत रहेका पौडेलले पाथीभरा केवलकारको विषयसँग जोडेर विभिन्न व्यक्तिले बैंक डुब्दैछ भनेर हल्ला फैलाइरहेकाले त्यस्तो कार्य नगर्न उनले अनुरोध गरेका हुन्।
आफ्नो फेसबुक अकाउन्ट मार्फत कार्यकारी निर्देशक पौडेलले भनेका छन्– ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो।’
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले बैंक र पाथीभर केवकारको विषय अलग–अलग विषय भएकाले यसमा बैंकलाई बलजफ्ती घसेट्न खोजिएकोमा गलत भएको भन्ने कार्यकारी निर्देशकको पौडेलको भनाइ समर्थन गर्दै ‘यस्तो कार्य बन्द गर्न’ आग्रह गरेका छन्।
केही दिनअघि मात्र पाथीभरामा केबलकार निर्माणविरुद्ध भइरहेका विरोध र बन्दलगायतका गतिविधिप्रति निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको थियो।
निजी क्षेत्रका तीन वटा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई०, नेपाल उद्योग परिसंघ ९सीएनआई० र नेपाल चेम्बर्स अफ कमर्स ९एनसीसी०ले साझा वक्तव्य जारी गर्दै केबलकार निर्माण परियोजनाविरुद्धका गतिविधिप्रति ध्यानाकर्षण गराएका हुन्।
तीन संगठनले विज्ञप्ति जारी गर्दै केबलकार यातायातको एउटा साधन मात्रै भएको जनाउँदै यसको निर्माणले त्यहाँको धार्मिकरसांस्कृतिक पक्षमा कुनै असर नगर्ने बरु पर्यटन प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख गरेका थिए।


