काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन्। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले यस्तो संकेत गरेका हुन्।
‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए। जनमत पार्टीका सभापति डा सिके राउतले उनले भनेको कुरा सुनिरहेका थिए। मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरेका थिए।
जनमत पार्टीले पूर्वी मधेशमा बलियो उपस्थिति बनाएको छ भने नाउपाले सुदूरपश्चिम तराई क्षेत्रमा राम्रो पकड बनाएको छ।
प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नाउपासँग ७ र मधेशको १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीसँग १३ सिट छन्।


