काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिमा सुन दान गर्नेहरू आउन थालेको बताएका छन्।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरपरिसरमा बिहीवार धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
पशुपतिनाथ मन्दिरका लागि हुने दान व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट समिति गठन गरिएको पनि उनले जानकारी दिएका थिए।
‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट लिएको सुनलगायतका वस्तुको पूर्ण सदुपयोग हुन्छ,’ पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले भने, ‘गोवाका मन्त्रीले नै सुन दान गर्न चाहनुभएको छ। पशुपतिमा गरिएको दानको सदुपयोग हुन्छ।’
कार्यक्रममा उनले धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अनुशासित एवम् उदाहरणीय बन्नुपर्ने मन्त्री पाण्डको विचार थियो। धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीले विश्वसनीय बनेर देखाउन आवश्यक रहेको उनको भनाइ छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक र लोकतान्त्रिक भावले अझ बलियो बनाउनेसमेत उल्लेख गरेका थिए। धार्मिक भावले मानिसलाई आत्मानुशासनमा ल्याउने र आत्मानुशासनले देश नै समृद्ध हुने उनको भनाइ थियो।
‘आत्मानुशासनकै कारण कतिपय देशमा सडक व्यवस्थापनका लागि ट्राफिक बस्नुपर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ,’ मन्त्री पाण्डले भने।


