काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले नेपाललाई ग्रे लिस्टमा राखेर नेपाललाई हाइटीकै हाराहारीमा पुर्याएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीसम्बन्धी अध्यादेशका विपक्षमा प्रस्ताव राख्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘नेपाललाई ग्रे लिस्टमा चढाइदिनुभएको छ, यो सरकारको पालामा नै त्यो कलंक बोकिएको छ। बुर्किना फासो र हाइटीकै हाराहारीमा नेपाललाई यो सरकारले दर्ज गराएको छ,’ वाग्लेको भनाइ थियो।
सरकारले अध्यादेश ल्याउन हतार गरेर कलंकको भारी बोकेको समेत उनको उनको आरोप थियो।
‘विषयवस्तुमा पनि योजना आयोगको भूमिका खुम्च्याइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई पनि संविधानको धारा ६० (३) को बर्खिलाप हुने गरेर यहाँ केही दफा प्रस्तुत भएका छन्,’ उनले भने, ‘तीन महिनाको छलफल राखिएको विषयलाई पनि घटाएर एकमहिना राखिएको छ। यो सबैको नियत अर्थ मन्त्रालयको शाखा बनाउने दुर्नियतका साथ ल्याइएको छ। वित्त आयोगको कार्यादेशमा हस्तक्षेप हुने गरेर ल्याइयो उनले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नै नभएको भन्दै सरकारले छलछाम गरेको बताए।’
राम्रै नतिजा ल्याउन खोजेपनि प्रक्रियामा छलछाम गरिँदा प्रतिफल अवैध हुने उनको भनाइ छ।


