काठमाडौँ- नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि प्राडा विजयप्रसाद मिश्र नेतृत्वको टोलीले पोखरामा बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। पोखराका कानुन व्यवसायीहरूसँग टोलीले चुनावी एजेन्डाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
उच्च अदालत बार पोखराका अध्यक्ष वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बारको सशक्तीकरण, न्यायालय सुधार, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली कानुन व्यवसायीहरूको क्षमता विस्तारलगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रममा विभिन्न स्थानबाट आएका कानुन व्यवसायीहरूले बार अध्यक्ष पदका उम्मेदवार प्राडा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र उनको टिमसँग विभिन्न विषयमा जिज्ञासा राख्ने र सुझाव संकलन पनि गरिएको थियो।
कार्यक्रममा सबैका सुझाव र जिज्ञासा सुनेका अध्यक्ष पदका उम्मेदवार प्राडा मिश्रले आफूहरूको टिमले मात्र बारलाई सशक्तीकरण गर्ने र न्यायालयमा सुधार गर्न सक्ने उल्लेख गरे। ‘हामीलाई बारबाट केही कमाउनु छैन। आउने पुस्ताको लागि काम गर्ने हो,’ उनले भने, ‘हामी मर्यादाबाट विचलित हुँदैनौँ। हाम्रो टिमले न्यायालय सुधारको नेतृत्व गर्छ।’
न्यायालयका विकृति, विसंगति र बेतिथिमा खबरदारी गर्न आफ्नो टिम सदैव सक्रिय रहने उनको भनाइ थियो। ‘न्यायालयमा कुनै गलत कार्य भए बार आन्दोलनमा आउँछ,’ उनको भनाइ छ, ‘अबको तीन वर्षमा बार पनि सुधार्छौँ। न्यायालयलाई साँच्चिकै न्यायको मन्दिर बनाउन हरपल खटिन्छौँ।’
गण्डकी प्रदेशका उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता भुपेन्द खनालले हरेक स्थानका बार इकाइहरूसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अदालतमा थुप्रिएका मुद्दालाई चाँडो निष्कर्षमा पुर्याउन बारले बेन्चसँग छलफल गरी निकास निकाल्ने उनको भनाइ छ।
उपाध्यक्ष पदकै उम्मेदवार अधिवक्ता सरस्वती श्रेष्ठले आफूले वरिष्ठ र नवोदित कानुन व्यवसायीबीच समन्वयको काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कानुनी क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आफूले काम गर्ने प्रतिबद्धता जनाइन्। ‘देशभर ८९ बार इकाई छन्। महिला कानुन व्यवसायी सहभागिता बढाउन सशक्त रुपमा लाग्नेछु,’ श्रेष्ठले भनिन्।
महासचिव पदका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले मिश्र नेतृत्वको आफ्नो समूहको मूल उदेश्य नै स्वच्छ र सशक्त बार बनाउने र न्यायालयका विसंगति, भ्रष्टाचारलाई रोक्ने भएको उल्लेख गरेका थिए। ‘बारलाई देखिने र सुनिने बार बनाउँछौँ। अन्तर्राष्ट्रियस्तरसम्म चिन्ने बार बनाउनेछौँ,’ उनले भने, ‘प्राडा मिश्र महासचिव हुँदा लर्यस एकेडमीको परिकल्पना भएको हो। अब हामी छिट्टै लर्यस एकेडमी स्थापना गर्नेछौँ।’
बारको लाइब्रेरीमा देशको जुनसुकै स्थानबाट पनि पहुँच पुग्ने गरी डिजिटलाइल गर्ने उनको प्रतिबद्धता थियो। कार्यक्रममा उनले अध्यक्ष पदका उम्मेदवार प्राडा मिश्रका योगदानको पनि चर्चा गरेका थिए। सामाजिक सुरक्षा कोषलाई अगाडि बढाउनेलगायतका योजना सुनाउदै मिश्र नेतृत्वको टिमलाई विजयी गराउन आग्रह गरेका थिए।
उपत्यकाबाहिरको क्लस्टरमा खुल्ला सदस्य पदका उम्मेदवार अधिवक्ता किरण पौडेलले नवोदित कानुन व्यवसायीको हकहित र क्षमता अभिवृद्धिका लागि आफ्नो टिमलाई मत दिएर विजयी बनाउन सबै कानुन व्यवसायीलाई आग्रह गरेका थिए।
जिल्ला अदालत बार इकाइका अध्यक्ष भगवती पहाडीले स्वागत मन्तव्य राखेको कार्यक्रममा उच्च अदालत पोखराका सचिव अधिवक्ता दुर्गमराज पन्तले गरेका थिए। कार्यक्रममा ठूलो संख्यामा कानुन व्यवसायीहरू उपस्थित थिए।
पोखरामा मिश्र समूहको अन्तर्क्रिया कार्यक्रम बृहत् रूपमा सम्पन्न भएको सदस्यका उम्मेदवार अधिवक्ता बाबुराम अर्यालले जानकारी दिए। २५ जना नै उम्मदेवारलाई लिएर मिश्र समूहका उम्मेदवारहरूको मेचीकाली यात्रा आइतबार झापा प्रस्थान गर्ने अर्यालले जानकारी दिए। बारको नयाँ नेतृत्व चयनका लागि चैत २३ गते मतदान हुँदैछ।


