कृष्णप्रसाद भण्डारी रुसी सेनाले नेपालमा आक्रमण गर्नुपर्छ भन्नु हुन्थ्यो। भण्डारीजीसँग मेरो चिनाजानी वा सम्बन्ध कसरी गाँसियो, म यहाँ उल्लेख गर्दछु। उहाँले २०१४ सालदेखि काठमाडौँंमा वकालत गर्दै आएको हो क्यार ! त्यसबेला बहुत् थोरै कानुन स्नातक वकीलमध्ये उहाँ पर्नुहुन्थ्यो। त्यस वखत वकालत पेसामा चारपासेहरूको जगजगी थियो।
मैले भने भण्डारीजीलाई २०१५ वा २०१६ सालदेखि चिनेको हो तर उहाँले मलाई, म भर्रखर एस्.एल्.सी. दिएर बसेको थिएँ, त्यसैले चिन्ने कुरै थिएन। उहाँको नाम भने मेरो कानमा बारम्बार आइरहन्थ्यो।
मेरो एक अनन्य मित्र थिए–लोहितराज उपाध्याय। उनका पिता लिलानाथ रौतहटको किसान आन्दोलनका नेता थिए। उनी भण्डारीजीको नाताभित्रको पनि हो कि जस्तो लाग्छ। भण्डारीजीको नाम आदरका साथ लोहितले चिनाउनु भएको थियो। छोटो समयमै भण्डारीजी एक जना नामी वकीलको रूपमा परिचित हुनुहुन्थ्यो। मेरी जेठी फुपूको छोरी शान्ता दिदीको विवाह रौतहटतिर भएको थियो। सायद भण्डारीजीका नातेदारसँग हो जस्तो लाग्छ। शान्ता दिदीको घरमा पनि भण्डारी निकै चर्चित हुनुहुन्थ्यो।
२०१५ सालमा भएको आम–निर्वाचन बदर गरी पाऊँ भनी डा.के.आई. सिंहले सर्वोच्च अदालतमा रिट निवेदन गरेका थिए। त्यसबेला सर्वोच्च अदालत रानीपोखरीको दक्षिणडिल हाल प्रहरीको कार्यालय रहेको ठाउँमा थियो। जहाँ त्यो रिटको पेसीका दिन बहस सुन्न पनि भिड लाग्ने गर्दथ्यो तर म एक दिन पनि गइनँ त्यो बहस सुन्न। डा.के.आई. सिंहले आफ्नो मुद्दामा बहस गर्न भारतबाट एन्.सी.चटर्जी नामका एक वकील झिकाएका थिए। अदालतको स्वीकृतीले ती कानुन–व्यवसायीले सर्वोच्च अदालतमा अङ्ग्रेजीमा बहस गरेका थिए।
सर्वोच्च अदालतमा आधिकारिक भाषा नेपाली रहेको र त्यसबेला न्यायाधीशसमेत चासपासे रहने हुँदा चटर्जीले गरेको बहसलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्ने जिम्मा भण्डारीजीलाई थियो। डा. के.आई. सिंहलाई उहाँको अनुवाद मन परेन र भण्डारीजीलाई हटाएर आफैँ अनुवाद गर्न थाल्नुभएको कुरो मेरा मावली बाजेबाट मैले सुनेको थिएँ।
भण्डारीजी त्यसको सदस्य हुनुभयो। त्यसपछि उहाँले लोकतन्त्रको धुनी बाली पञ्चायतको घरभित्रै प्रहार गर्नेतर्फ लाग्नुभयो। सबै पञ्चायत पीडितका मुद्दाहरू भण्डारीजीको उपस्थितिमा हुन्थ्यो। भण्डारीजी आकाशमा छुन आएझैँ गरी कानुन क्षेत्रमा आउनुभयो।
त्यसबेला मेरा मावली बाजे वकालत गर्नुहुन्थ्यो। उहाँ नेपाल बार एशोसिएशनको संस्थापक कोषाध्यक्ष हुनुहुन्थ्यो। चारपासे वकील र न्यायाधीशका बाहुल्य रहेको त्यसबेला कनीकुथी अङ्ग्रेजी बोल्नु पनि दिग्विजय गर्नु बराबार नै थियो। त्यसबेला वकीलहरूको च्याम्बर आजको जस्तो आधुनिक र सुसज्जित हुँदैनथ्यो। घरको बैठक नै उसको च्याम्बर हुन्थ्यो अथवा दुई तीन जना मिलेर बजार आसपास कतै च्याम्बर राख्ने र घरमा रहेको एउटा खुट्टा नभएको फ्याङ्चो मेच र टेबल राखी सेवाग्राहीलाई भेट्ने र मुद्दासम्बन्धी काम गर्ने चलन थियो।
मेरा मावली बाजे कुनै बेला श्री ३ चन्द्र समशेर कहाँ निकसारी अड्डामा काम गर्नुहुन्थ्यो। सायद २००९ सालदेखि नेपालमा वकालत पेसाले मान्यता पायो। कानुन स्नातक ज्यादै न्यून भएको हुँदा न्याय कानुनको क्षेत्रमा राणाकालमा काम गरेका कर्मचारीले व्यवसाय गर्ने इजाजत प्रधानन्यायालय र सर्वोच्च अदालतले दिएको हुँदा मेरा बाजेले पनि इजाजत पाइ २००९ सालदेखि नै वकालत गर्न थाल्नुभएको थियो। उहाँ सफल वकीलको रूपमा आफूलाई स्थापित गर्नु भयो। न्यायाधीशमा पनि कानुन स्नातक बहुत् कम भएकाले धेरै राणाकालका अदालत वा न्याय कानुनको क्षेत्रमा काम गरिरहेकाहरूलाई नै २००७ सालपछि न्यायाधीशमा नियुक्ति गरिएको थियो।
मेरा मावली बाजे हेरम्बप्रसाद उपाध्यायको च्याम्बर असनस्थित उहाँको घरको बैठक कक्ष थियो। बिहान बेलुका त्यहाँ मुद्दावालाहरूको भिड लाग्ने गर्दथ्यो। भण्डारीजी पनि त्यहाँ कुनै मुद्दा लिएर वा आफूले नबुझेको कुनै कानुनका दफाहरूको सम्बन्धमा बाजे हेरम्बप्रसादसँग व्याख्या गराइ पाउन बडो बिन्तीभावले उपस्थित हुने गर्नुहुन्थ्यो। त्यसबेला बजारमा मुलुकी ऐन किन्न पनि धेरै गाह्रो थियो। ऐनहरू जसले पायो त्यसले छाप्न नपाउने र सरकारले नियमित रूपमा नछाप्ने हुँदा न्यून सङ्ख्यामा उपलब्ध हुन्थ्यो। पुराना न्यायको क्षेत्रमा काम गरी वकिल भएकाहरूसँग भने छालाले मोरेका मुलुकी ऐन हुने गर्दथे। बाजेसँग पनि त्यस प्रकारका थुप्रै किताब थिए। भण्डारीजी प्रायः त्यहाँ सधैँ गई मुलुकी ऐन सार्नुहुन्थ्यो र कानुनको व्याख्या पनि गराउनुहुन्थ्यो।
मलाई भण्डारीजीको व्यक्तित्व अनुकरणीय लाग्दैनथ्यो। मोहकता बिल्कुल नभएको, न त बोलेर न त व्यवहारले आकर्षित गर्न सक्ने स्वभाव थियो। एउटा सामान्य मानिसजस्तो मात्रै लाग्थ्यो।
एस.एल.सी. परीक्षा मैले दोस्रो श्रेणीमा पास गरेँ। त्यसबेलाको चलनअनुसार म विज्ञानतर्फ भर्ना भएँ। सायद मेरो अवचेतन मनमा डाक्टर बन्ने इच्छा थियो कि। इच्छामात्र भएर हुँदैन, मिहिनेत पनि पर्याप्त चाहिन्छ, जुन कुरा ममा पटक्कै थिएन तर पनि मेरो मनले कल्पना गर्दथ्यो डाक्टरको ! भण्डारीजी त्यसमा मेरो आदर्श बन्न सक्नुहुन्थेन। मेहनत नगरेबापत आईएस्सीमा मेरो तेस्रो श्रेणी आयो। मलाई त्यति नरमाइलो लागेन।
विस्तारै भण्डारीजी मेरो बाजेसमक्ष आउन छाड्नुभयो। उहाँले आफ्नो कार्यालय बागबजारमा राख्नुभयो। मेरा बाजे कानुन सुधार आयोगको सदस्य हुनुभयो। यसको कार्य नयाँ मुलुकी ऐनको मस्यौदा गर्नुथियो। विश्वनाथ उपाध्याय आयोगको अध्यक्ष हुनुभयो। भण्डारीजीको विवाह विश्वनाथ उपाध्यायको बहिनीसँग भएको थियो। विश्वनाथ उपाध्याय सुरुमा राष्ट्र बैङ्कमा जागिर खाएपछि न्याय र कानुन क्षेत्रमा आउनु भई कानुन क्षेत्रमा आफ्नो सीप निखार्नु भयो।
मेरो माइला मामा मधुप्रसाद शर्माले २०१६ सालमा बी.एल.गरी काठमाडौँं इलाका न्यायाधीशमा नियुक्त हुनुभयो। राजनैतिक दलहरूलाई राजा महेन्द्रले प्रतिबन्ध गरेपछि दलगत राजनीतिमा मुछिएको आशङ्कामा उहाँको जागिर स्थायी हुन नसकी खोसियो। त्यसपछि उहाँले पनि वकालत सुरु गर्नुभयो। २०२८ सालमा मेरा मामा वरिष्ठ अधिवक्ता पनि हुनुभयो। मामा मधुको विशेष सम्बन्ध भण्डारीजीसँग पनि थियो। उहाँहरूमा एकले अर्कोलाई निक्कै सम्मान गरेको देखिन्थ्यो।
मेरो घरपरिवार २०१७ देखि २०२० सालसम्म राजनीतिमा चुर्लुम्म डुब्यो। मेरो बाबा पञ्चायत व्यवस्थाविरुद्ध लड्न भनी कलकत्तातर्फ जानुभयो। हाम्रो घर पुतलीसडकमा थियो। पुरानो खालको तीन तले घर वरिपरि जग्गा थियो। आमा पनि जेल परेपछि म, दाजु र दिदीमात्र सँगै भयौं। हामीले पुतलीसडकको घर भाडामा दिई आफूहरू असनमा डेरामा बस्ने गर्दथ्यौँ। हाम्रो पुतलीसडकको घरबाट महिनाको १५० रुपियाँ भाडा आउँथ्यो भने असनमा हामीले ४५ रुपियाँमा पूरा घर भाडामा पाएका थियौँ। सो घर राजा महेन्द्रका स्वकीय सचिव लोकदर्शन बज्राचार्यको थियो। हाम्रो महिनाको १०५ रुपियाँ बचत हुन्थ्यो।
भण्डारीजीको चरित्र गजबको छ। उहाँले हिँड्दा–हिँड्दै पनि सेवाग्राहीलाई सेवा दिनुहुन्छ। मेरो वकालती पेसामा भण्डारीजीको प्रत्यक्ष सहयोग भने थिएन तर मैले वकालत गर्दा उहाँ दन्तेकथाको नायकझैँ भने भइसक्नुभएको थियो।
त्यसबेला सस्तो जमाना थियो। हाम्रो घरमा दाङका जमिन्दार राजनीतिज्ञ भरतमणि शर्मा बस्नुहुन्थ्यो। त्यसबेला काठमाडौँंका मेजिस्टे«टबाट एउटा सूचना जारी भयो। सूचनामा पञ्चायतको विरोधमा विदेशमा बसी राजनीति गर्नेहरूलाई ३६ दिनभित्र देशमा आउन भनिएको थियो। नआएमा उसको श्रीसम्पत्ति जफत हुने पनि सूचनामा उल्लेख थियो। त्यो सूचनामा विदेशमा बस्नेको नाम पनि दिइएको थियो।
पुतलीसडकको हाम्रो घर निर्धारित समयपछि जफत भयो। मेरो बाजेले एउटा निवेदनको मस्यौदा गर्नुभयो र त्यसलाई राम्रोसँग नेपाली कागजमा सारी सही गर्न मलाई दिनुभयो। अहिले मलाई अलिअलि सम्झना छ—त्यो कागजमा उक्त घर मेरो पिताको नाममा नरहेको, उक्त घर खरिद गर्न मावली बाजेले आमाको नाममा रकम दिएर आमाकै नाउँमा खरिद गरिएको, त्यसैले त्यो घरमा पिताको हक पुग्दैन भन्ने कुरा थियो। दुई महिनापछि घरको रोक्का फुकुवा भयो। त्यसपछि भरतमणिजीले बाँकी सबै बहाल हामीलाई नै बुझाउनुभयो। उहाँ केही दिनपछि त्यहाँबाट अन्तै गएकाले घर खाली भयो।
यसैबीचमा आमा पनि जेलबाट छुट्नु भयो। हाम्रो घर कुरुवा पुतलीसडक बस्ने एक महिला थिइन्। एक दिन बिहानै उनी आइन् र उनले एक जना व्यक्ति आएर हाम्रो घरमा बसेको जानकारी दिइन्। उहाँको नाम विश्वनाथ हो भनेर अवगत पनि गराइन्। उनले अगाडि भनिन्—‘घर बहालमा नै दिने हो। घर मालिक सबैलाई मैले चिनेको छु भनेर उहाँ बस्नुभयो।’ विश्वनाथ उपाध्याय त्यसबेला ल कमिशनमा हुनुहुन्थ्यो। बाजे पनि त्यसको सदस्य हुनुहुन्थ्यो। घर तुरुन्तै बहालमा गएको, त्यसमा पनि गतिलो परिवार बस्न आएकाले हाम्रो मौन स्वीकृत थियो।
केही समयपछि हामीले त्यो घर बेच्ने मनस्थिति बनायौँ। विश्वनाथजीले पनि काठमाडौँंमा बासको लागि घर खोज्नुभएको रहेछ तर पैसा अलि कम रहेछ। उहाँले मेरो बाजेसँग सो घर खरिद गर्ने बारेमा कुरा गर्नुभएछ। बाजे र विश्वनाथजी बीच एउटा कुरा तय भएछ—‘सुरुमा १२ हजार रुपियाँ दिने र एक वर्षभित्र बाँकी ६ हजार रुपियाँ दिने।’ बाजे हेरम्बप्रसादले १२ हजार रुपियाँ लिई हामीलाई दिनुभयो।
दाइ, दिदी, आमा त्यति रकममा अनुकूल नै हुनुहुन्थ्यो तर मैले मान्दै मानिनँ। किस्तामा घर बेच्ने कुरामा मेरो स्वीकृति थिएन। त्यसमा पनि १८ हजारमा बिक्री गर्न मलाई मञ्जुर थिएन। बडो खिन्न हुँदै बाजेले पैसा फिर्ता गर्नुभयो। उता विश्वनाथजी पनि खिन्न हुनुभयो। विचरा विश्वनाथले कहाँबाट केही रकम बचत गर्नुभएको थियो। सो रकम घर किन्न बाजेको सल्लाहअनुसार अग्रिम दिनुभएको थियो तर, पछि मेरो कारणबाट उहाँको त्यो प्रयास सफल भएन। मेरो कारण दुवैजना अपमानित हुनुभएको मैले महशुस गरेँ।
हाम्रो परिवारमा घर भाडावापत आउने एक सय ५० रुपियाँबाहेक अन्य आम्दानी केही थिएन। हामी तीन छोराछोरीको पढाइ र आमाको व्यक्तिगत खर्च इत्यादिले गर्दा ऋण लाग्यो र आमाले घर बेच्न खोज्नुभएको थियो। घरको मूल्य २० हजार राखियो। पद्मकन्या क्याम्पसका प्राध्यापक शिवगोपाल रिसाल र उनका दाजुले घरको मूल्य २० हजार रुपियाँ दिन राजी भए। उक्त घर राजीनामा पास गर्न आमा, दाजु र म डिल्लीबजार गयौँ, पास पनि भयो।
त्यसपछि उक्त घर खाली गरिदिन शिवगोपालले विश्वनाथजीसँग अनुरोध गरेछन्। विश्वनाथजीले शिवगोपाललाई हपार्दै घर छोड्ने सूचना नदिएकाले आफू नहट्ने अडिग लिनुभएछ। यो कुरा शिवगोपालले हामीलाई सुनाए। भोलिपल्ट आमा घरमा जानुभयो र विश्वनाथजीसँग घर छाड्न अनुरोध गर्नुभयो। विश्वनाथजीले आफूलाई कुनै सूचना नआएकाले तुरुन्तै घर नछाड्ने भन्दै ठाडो जवाफ दिनुभयो रे !
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले लगातार दुई पटक प्रतिनिधिसभा विघटन गरे। त्यसको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पर्यो। त्यसमा ९५ वर्ष नाघेका भण्डारीजी एक तरुनो वृद्धले सक्रिय भई अदालतमा बहस गर्नुभयो।
विश्वनाथजी र मेरो आमा दुवैको कडा मिजासको स्वभाव थियो। एकछिन भनाभन भएछ। यस विषयमा आमाले भाइ (मेरो मामा) मधुसँग कुरा गर्नुभएछ। त्यसपछि मामाले तुरुन्तै भण्डारीजीलाई यस विषयको खबर गर्नुभयो। मामाले फोनमा भन्नुभएछ—‘तपाईँका जेठानले मेरी दिदीलाई हेपेर कुरा गर्ने ! दिदीको घरमा कसलाई सोधेर तपाईका जेठान बस्नुभएको थियो ?’ उताबाट भण्डारीजीले बडो मधुर स्वरमा आफूले त्यस घटनाको बारेमा माफी माग्ने बताउनु भएछ। त्यसबारेमा आफूले विश्वनाथजीसँग कुरा गर्ने आश्वासन दिनुभएछ। भण्डारीजीले पाँच दिनको समय मागी आफूले घर खाली गराइदिने बचन दिनुभएछ।
भण्डारीजीसँग मेरो पनि प्रत्यक्ष वार्ता भयो। हाम्रो फोनमा बडो सौहार्दपूर्वक गफ भयो। वकील बोकाहा, ठग हुन्छन् भन्थे, भण्डारीजीको व्यवहार देख्दा वकील विवाद समाधान गर्न खोज्ने स्तरका पनि हुँदा रहेछन् भन्ने मलाई लाग्यो। भण्डारीजीको शालीनताबाट म निकै प्रभावित भएँ।
समय बित्दै गयो। मेरो जीवनमा धेरै उतारचढाव भयो। आमा, बाबा भएको ठाउँ कलकत्ता गएर बस्नुभयो। २०२६ सालमा आममाफी पाइ उहाँहरू बल्ल नेपाल फर्किनुभयो। यसैबीच मैले बी.एस.सी. गरी २०२५ सालमा दरबार स्कुलस्थित ल कलेजमा कानुन स्नातकमा भर्ना भएँ तर पढाइलाई स्थायी गर्न सकिनँ। २०२५ सालमा पहिलो र २०२९ सालमा दोस्रो खण्ड अध्ययन गरेँ। भण्डारीजीले हामीलाई मुलुकी ऐन पढाउनु हुन्थ्यो। त्यस हिसाबले उहाँ मेरो गुरु हुनुभयो। भण्डारीजीले पुतलीसडकमा जग्गा किन्नुभयो र त्यहाँ नै उहाँले घर बनाइ नेपाल ल फर्म खोल्नुभयो।
त्यस ल फर्ममा कृष्णप्रसाद पन्त, लवदेव भट्ट, कुसुम श्रेष्ठजस्ता विद्वान कानुन–व्यवसायीहरूको जमघट हुन्थ्यो। कालान्तरमा नेपाल ल फर्मले देवानी मुद्दा र वैयक्तिक स्वतन्त्रताको लागि एउटा संस्थाकै रूप लियो। लोकतन्त्रको स्थापना हुँदा वैयक्तिक स्वतन्त्रताको अभियन्ता भण्डारी हुनुभयो। के पठित के अपठित सबैका उहाँ नायक हुनुहुन्थ्यो। पञ्चायती संविधानले स्नातकबाट चार जना प्रतिनिधि राष्ट्रिय पञ्चायत जाने व्यवस्थाअन्तर्गत भण्डारीजी त्यसको सदस्य हुनुभयो। त्यसपछि उहाँले लोकतन्त्रको धुनी बाली पञ्चायतको घरभित्रै प्रहार गर्नेतर्फ लाग्नुभयो। सबै पञ्चायत पीडितका मुद्दाहरू भण्डारीजीको उपस्थितिमा हुन्थ्यो। भण्डारीजी आकाशमा छुन आएझैँ गरी कानुन क्षेत्रमा आउनुभयो।
मेरा मामा मधु शर्मा पनि १८ सालदेखि कानुन–व्यवसायमा लाग्नुभयो। भण्डारीजीको नेपाल ल फर्मले धेरै कानुन–व्यवसायी जन्मायो। उर्दूमा जसलाई ‘जाँ बाज’ भनिन्छ, त्यहीअनुसार उहाँको नेतृत्वको ल फर्मबाट कानुन–व्यवसायीको जन्म भयो। कानुन–व्यवसायलाई सामाजिक अभियन्ता बनाउने धुनमा भण्डारीजीले नेतृत्व सम्हाल्नुभयो। भण्डारीजी अब मेरो आकर्षण र आदर्श बिम्बको रूपमा मेरो दिमागमा रहनुभएको छ। हरविषय वा घटनामा आरोह–अवरोह हुन्छ। मैले पनि २०२९ सालमा बी.एल. गरेँ र कानुनी क्षेत्रको गुरुकुल भण्डारीको ल फर्म नगई कृष्णप्रसाद घिमिरेको अर्को नामी ल फर्ममा जान थालेँ। त्यही ल फर्मले मलाई कानुन क्षेत्रमा स्थापित गरायो।
भण्डारीजीको चरित्र गजबको छ। उहाँले हिँड्दा–हिँड्दै पनि सेवाग्राहीलाई सेवा दिनुहुन्छ। मेरो वकालती पेसामा भण्डारीजीको प्रत्यक्ष सहयोग भने थिएन तर मैले वकालत गर्दा उहाँ दन्तेकथाको नायकझैँ भने भइसक्नुभएको थियो। राजनैतिक तथा प्रेस स्वतन्त्रताका मुद्दालगायत सबैमा उहाँका ल फर्मका वकिल समावेश भएकै हुन्थे तर पनि नाम भण्डारीजीकै आउँथ्यो।
नेपाल ल फर्मबाट कुसुम श्रेष्ठ, कृष्णप्रसाद पन्त, लवदेव भट्ट आदि नामका वकीलहरू तयार भए तर बिस्तारै भित्रभित्रै नेपाल ल फर्म चिरा पर्न थालेछ। हामी कानुन–व्यवसायीहरू भण्डारीजीलाई नै आर्दश मानी बस्ने गर्दथ्यौँ। कृष्णप्रसाद पन्त न्यायिक समितिमा जानुभयो, लवदेव भट्ट जो भण्डारीजीको खम्बा मानिनुहुन्थ्यो, उहाँले पहिलो नजिर सङ्ग्रह निकाल्नु भएको थियो। त्यसपछि उहाँ पनि अख्तियार दुरुपयोग निवारण आयोगमा जानुभयो।
अब ल फर्ममा भण्डारीजी मात्र रहनुभयो। हामी बाह्य क्षेत्रमा रहेका कानुन–व्यवसायीलाई लागेको थियो कि अब ल फर्म समाप्त हुन्छ तर, भण्डारीजी कुसुम श्रेष्ठजस्तो सारथी पाएर फेरी रथमा सवारजस्तो भई कानुनी क्षेत्रमा अझ लाग्न थाल्नुभयो। भण्डारीजीले कानुन–व्यवसायीका तर्फबाट अग्रणी भूमिका निर्वाह गर्न थाल्नुभयो। देशमा पुनः राजनैतिक हलचल हुन थाल्यो। भण्डारीजीले सचेत वकिलहरूलाई जम्मा गरी गाजर, काउली उसिनेर चना पकाएर खुवाउँदै देशको परिस्थितिको बारेमा विश्लेषण गर्न थाल्नुभयो। मलाई पनि त्यस्ता बैठकमा भाग लिने निक्कै मौका मिलेको थियो। अब भण्डारीजी वकिलको रूपमा राजनीतिको अप्रत्यक्ष अभियन्ता हुन थाल्नुभयो।
त्यसबेला वाम आन्दोलन दुई खेमामा बाँडिएको थियो—एउटा, सोभियत सङ्घको कम्युनिष्ट र अर्को चिनियाँ कम्युनिष्ट। भण्डारीजीको अन्धभक्ति सोभियत सङ्घको कम्युनिष्टतिर रह्यो। सोभियत सङ्घमा पढ्न जानेहरूलाई भण्डारीजीले सहयोग गर्नुभएको हो तर उहाँमाथि पैसा खाएको आरोप उहाँका विरोधीले लगाउन थाले। यस्तो आरोप लगाए पनि भण्डारीजी अविचलित भई आफ्नो कर्ममा अडिग रहनुभयो।
भण्डारीजी सोभियत रुसको यति भक्त रहनु भयो कि उहाँले रुसी सेनाले नेपालमा आक्रमण गर्नुपर्छ भन्न थाल्नुभयो। सो भनाइ हामीलाई निकै अप्रिय लाग्यो। त्यसपछि उहाँप्रति भएको मेरो मोह भङ्ग भयो। मलाई उहाँ त रुसी एजेन्ट हो जस्तो लाग्यो। भण्डारीजीको त्यो आक्रोश नेपालमा भएको भ्रष्टाचार र राजनैतिक अकर्मण्यताप्रति रहेछ भन्ने कुरा मैले बिस्तारै थाहा पाउँदै गएँ। फेरि भण्डारीजीप्रति मेरो सद्भाव बढ्दै गयो र मेरो मनमस्तिष्मा उहाँ यथावत हुनुहुन्छ। बहुदल प्राप्तिको सवाल होस वा कानुन व्याख्याको सकारात्मक समायोजनमा भण्डारीजीको सहयोग अद्भूत रह्यो। भण्डारीजी अब सबै वकीलका श्रद्धेय गुरु हुनुहुन्छ। ९५ वर्षभन्दा बढी उमेरमा पनि उहाँमा युवा जोश र जाँगर छँदैछ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले लगातार दुई पटक प्रतिनिधिसभा विघटन गरे। त्यसको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पर्यो। त्यसमा ९५ वर्ष नाघेका भण्डारीजी एक तरुनो वृद्धले सक्रिय भई अदालतमा बहस गर्नुभयो। संविधानले नदिएको अधिकार जवर्जस्ती प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्ने तिनै प्रधानमन्त्री ओलीले भण्डारीजी माथि व्यङ्ग्य गर्दै ‘९० वर्षका बुढा बाजे’ भनी खिसी गरे। विचरा ओलीलाई के थाहा, त्यसले भण्डारीजीको कद कति माथि पुग्यो भन्ने ! खिसी गर्ने ओलीको कद छोटो हु्ँदै पुड्को भयो।
आदरणीय गुरु भण्डारीजीप्रति अगाध श्रद्धा राख्दै नमन गर्दछु।
(पूर्वप्रधानन्यायाधीश तथा मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनूपराज शर्माको कृति ‘को अनूप’बाट)



