काठमाडौँ – नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रको जित सुनिश्चित बनेको छ।
माओवादी केन्द्र निकट वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठलाई फराकिलो मतले पछि पार्दै मिश्रको जित सुनिश्चित भएको हो।
शनिबार भएको निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो। यसमध्ये पाटन उच्च अदालत बारको १०५९ (५ सय मत गणना भइसकेको) र ललितपुर बारको ५६० मत गन्न बाँकी रहेको निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।
दुवै स्थानको जोड्दा अब २११९ मत गन्न बाँकी छ। गन्न बाँकी मतभन्दा मिश्रको अग्रता बढी रहेको बार मतगणनाको डाटा इन्ट्री गरिरहेका मिश्रका प्रतिनिधि अधिवक्ता जनकसिह साउदले बताए। मिश्रले श्रेष्ठभन्दा २४२९ मत बढी ल्याइसकेकाले अब उनको विजय सुनिश्चित बनेको हो।
२११९ मत गन्न बाँकी रहेकै अवस्थामा मिश्रले ४ हजार ७२ मत पाएका छन्। उनका प्रतिस्पर्धी रमण कुमार श्रेष्ठले १ हजार ८४३ मत पाएका छन्। गन्न बाँकी सबै मत रमणले पाए पनि अब उनको जित्ने सम्भावना सकिएको छ। उनले यसपालि उपविजेतामा चित्त बुझाउनुपर्ने निश्चित देखिएको छ।
महासचिवमा पनि मिश्र प्यानलबाट नै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बाजी मार्ने निश्चित छ। श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले १ हजार ७०५ मत मात्र प्राप्त गरेका छन्। यो पदमा पनि गन्न बाँकी मत भन्दा कोइरालाको अग्रता बढी भएकाले अब न्यौपानेले जित्ने सम्भावना समाप्त भएको छ।
यस्तै कोषाध्यक्ष पदमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले ४ हजार ३१५ मत पाएका छन्। उनका प्रतिस्पर्धी श्रेष्ठ प्यानका दीपक राईले १ हजार ३०६ मत मात्र प्राप्त गरेका छन्।
गन्न बाँकी मत भन्दा मिश्र प्यानलका सबै उम्मेदवारले बढी मताग्रता बनाइसकेकाले मिश्र नेतृत्वको २५ जनाकै सेट बारमा निर्वाचित हुने निश्चित भएको छ। गणना सम्पन्न गरेपछि निर्वाचन समितिले आधिकारिक रूपमा विजेता घोषणा गर्नेछ।
ललितपुरको ५६० मत र पाटन बारको १०५९ मत गन्न बाँकी हुँदा कसले कति पाए मत?
अपडेट:
बार निर्वाचन : ५६० मत गन्न बाँकी, मिश्र प्यानलको जित घोषणा भोलि


