काठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम बिहीवार आउने भएको छ। निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले मतगणनाको अन्तिम परिणाम बिहीवार आउने जानकारी दिए।
सिटौलाका अनुसार अब ५६० मत गन्न बाँकी छ। यो मत ललितपुर जिल्ला बारको हो। बाँकी सबै स्थानको गणना सम्पन्न भएको छ। शनिबार भएको मतदानमा ७ हजार ९९५ मत खसेको थियो।
५६० मत गन्न बाँकी रहेको अवस्थामा डीएलए, पीपीएलए र एनडीएलए गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ४ हजार ८९२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्र निकटका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २ हजार २२९ मत ल्याएका छन्। मिश्र श्रेष्ठभन्दा २ हजार ६६३ मतले अघि परेका छन्।
श्रेष्ठलाई रास्वपा, नेकपा (एकीकृत समाजवादी), राप्रपा नेपाललगायतका दल निकटका कानुन व्यवसायीहरूको साथ छ।
योसँगै अध्यक्ष पदमा निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको जित सुनिश्चित बनेको छ। गन्न बाँकी मत भन्दा मिश्रको मताग्रता बढी भएकाले उनको जित निश्चित बनेको हो। मिश्रसँग उनको प्यानलका सबै उम्मेदवारले फराकिलो मताग्रता बनाएकाले निर्वाचित हुने देखिएको हो।
‘निर्वाचन समितिले आजका लागि मतगणना स्थगन गरेको छ। भोलि ललितपुरको ५६० मतगणना हुनेछ,’ बार मतगणनाको डाटा इन्ट्री गरिरहेका मिश्रका प्रतिनिधि अधिवक्ता जनकसिंह साउदले बताए।
बिहीवार बिहान ८ बजेदेखि बाँकी मत गणना थाल्ने समितिको तयारी छ।
यस्तो छ पछिल्लो मतपरिणाम


