काठमाडौँ- पुनस्थापनात्मक पर्यटन ‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धिसँगै ज्ञान र सीपसहित यसतर्फ आकर्षण गर्ने उद्देश्यले एक अन्तरक्रिया गरिएको छ। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम (बिटिटिएम) का पाँचौँ सत्रका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिए।
नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझाले कार्यक्रमले युवा पर्यटनकर्मीलाई आगामी दिनमा पर्यटन क्षेत्रमा व्यावहारिक रूपमा लागू गर्न तथा पर्यटनको अनुसन्धान र सरकारी नीति निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले कुनै पनि मुलुकले दिगो पर्यटनलाई प्राथमिकता दिए पनि रिजेनेरेटिभ पर्यटनबारे खासै ध्यान नदिइएको सन्दर्भमा नेपालमा आगामी दिनमा नीतिगत रूपमा सुधार गर्न सहयोग पुग्ने बताइन्।
‘सस्टेनेबल टुरिजम टू रिजेनरेटिभ टुरिजम’ शीर्षकमा विशेष वक्ता सोसियल टुर्सका संस्थापक राज ज्ञवालीले रिजेनेरेटिभ टुरिजमको अवधारणा र भविष्यको पर्यटनबारे प्रस्तुति दिए। छलफल सत्रमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव युबिका भण्डारी, कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत सीईओ) विजय अमात्य र पर्यटन अनुसन्धानकर्ता राक्सित बहादुर खड्का सहभागी थिए।
ज्ञवालीले पर्यटनलाई दिगो बनाउन गुणस्तरीयतामा ध्यान दिनुपर्ने खाँचो औंल्याए। पर्यटनलाई नयाँ ढङ्गले पुनःस्थापना गर्न युवापुस्तालाई यसप्रति प्रोत्साहन र दक्षता अभिवृद्धि गर्न रिजेनेरेटिभ टुरिजम अपरिहार्यता भएको बताए। पर्यटनमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिएको खण्डमा मात्रै दिगो पर्यटन सार्थक हुने उनको धारणा छ।
नाट्टाका महासचिव युबिका भण्डारीले समयक्रमसँगै रिजेनेरेटिभ टुरिजम ट्रेन आएको भन्दै पर्यटनलाई नयाँ तौर तरिकाले विकास र यसको पहुँच स्थानीयस्तरमा जोड्नका लागि महत्वपूर्ण रहेको बताइन्।
उनले भनिन्, ‘नेपालले विगतमा पनि रिजेनेरेटिभ टुरिजममा काम गर्दै आएको छ। संरक्षण क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ। हामीले दिगो पर्यटन मात्रै ध्यान दिएको भए अहिलेको अवस्थामा आउन कठिन हुने थियो। पर्यटनले प्रकृतिलाई कसरी अपडेट गर्छ अहिलेको पुस्ताले पर्यावरण मैत्री पर्यटनलाई सँगै लैजान पनि ध्यान खिच्छ।’
कोरा टुर्सका सीईओ विजय अमात्यले रिजेनेरेटिभ पर्यटनको अवधारणामा विश्वमा विगत १० वर्षदेखि आएको र नेपालले पछिल्ला वर्षहरूमा यसको आवश्यकता र सान्दर्भिकता बारे बहस गरिरहेको भन्दै नेपालको सन्दर्भमा यो अपरिहार्य भएको बताए।
पर्यटन प्रशिक्षक डम्बरराज भट्टले दिगो पर्यटनमा भएका कामलाई पुनः नयाँ सोच र अवधारणाका साथ लैजान उदाहरणका रूपमा लोप भइसकेका संस्कृतिलाई पुनर्जागृत गर्ने, वन वन्यजन्तु र वातावरण संरक्षणसँगै पर्यटन अगाडि बढाउने नयाँ अवधारणाका रूपमा रिजेनेरेटिभ टुरिजमको अवधारणा विकास भएको उल्लेख गरे।
यस कार्यक्रमले नेपालको पर्यटन उद्योगको भविष्यका बारेमा सोच र अवधारणा तयार गर्नका साथै दिगोबाट पुनरूत्थानात्मक पर्यटनमा सरेर, नेपालले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण मात्रै गर्दैन, वृद्धि गर्ने जिम्मेवार पर्यटन गन्तव्यका रूपमा आफ्नो स्थिति बलियो बनाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने आयोजकको भनाइ छ। कार्यक्रममा नेपाली वास्तुकला, माटोको कला, बाँसका सामग्रीहरू प्रदर्शनी गरिएको थियो।


