सन् २०२५ को पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्वमा गिरावट आएपछि टेस्लाका प्रमुख एलोन मस्कले डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन्।
राजनीतिमा लागेपछि टेस्लाको बिक्री घटेको भन्ने आरोप उनले सामना गर्नुपरेको थियो। मंगलवार कम्पनीले २०२५ को पहिलो त्रैमासिकमा अटोमोटिभ राजस्वमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले गिरावट आएको रिपोर्ट गरेको छ भने नाफा ७० प्रतिशतभन्दा बढीले घटेको छ।
यस्तो अवस्था अझै केही समय रहने कम्पनीले लगानीकर्ताहरूलाई भनिसकेको छ। ‘राजनीतिक परिवर्तन’ले मागको चक्रमा असर गर्न सक्ने भन्दै उसले चेतावनी दिएको थियो।
ट्रम्प प्रशासनमा मस्कको भूमिकालाई लिएर भएको आक्रोशको बीचमा कम्पनीलाई भने दुर्भाग्य भएको हो। आफ्नो ध्यान राजनीतितर्फ केन्द्रित भएकाले कम्पनीको आर्थिक अवस्थामा असर परेको मस्कले स्वीकार गरेका छन्।
ट्रम्पको चुनावी कार्यक्रममा ट्रम्पले २५ करोड डलरभन्दा बढी लगानी गरेका थिए। निर्वाचित भएर आएपछि ट्रम्पले सरकारको खर्च कटौती गर्न र सरकारी कर्मचारी कटौती गर्ने विभाग (डोज)को नेतृत्वमा पुगेका छन्।
मस्कका अनुसार उनले आगामी महिनादेखि डजलाई दिने समय कम हुनेछ। ‘राष्ट्रपतिले मलाई त्यसो गर्न चाहेसम्म र यो उपयोगी भएसम्म’ सरकारी मामिलामा हप्तामा एकदेखि दुई दिन मात्र बिताउनेछु,’ उनले भने। उनको राजनीतिक संलग्नताले विश्वभर टेस्लाको विरोध भइरहेको छ भने अप्रत्यक्ष रूपमा बहिष्कारको सामना पनि गरिरहेको छ।
उनले आफू र डज टोलीमाथि आक्रमणको प्रयास भएको पनि मस्कको आरोप छ। ‘सरकारी घर व्यवस्थित गर्ने काम प्रायः सकिएको’ उनको भनाइ छ।
यस वर्षको पहिलो तीन महिनामा टेस्लाले त्रैमासिकमा कुल १९.३ अर्ब डलर राजस्व ल्याएको छ। यो अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले कम हो।
चीनमाथि अमेरिकाले लगाएको करले टेस्लालाई पनि ठूलो असर पारेको कम्पनीले संकेत गरेको छ। टेस्लाले आफ्नो घरेलु बजारमा बेच्ने सवारी साधनहरू अमेरिकामा एसेम्बल हुने भए पनि पार्टपुर्जामा चीनमाथि निर्भर छ। कम्पनीका अनुसार ‘द्रुत गतिमा विकसित हुँदै गइरहेको व्यापार नीति’ले यसको आपूर्ति शृङ्खलालाई क्षति पुर्याउन सक्ने आकलन छ।


