काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस उद्योग तथा व्यापार बिभागले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन्।
मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका हुन्।
मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका माग सम्बोधन हुने बताए।
‘पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजि क्षेत्रले विशेष ध्यान दिन आवश्यक छ,’ उनले भने।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक उपलव्धीकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले असन्तुष्टि देखिएको बताए।
जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभई उचित तवरले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।
आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केहि कुरालाई सुधार गर्न सके यसलाई सही दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे।


