काठमाडौँ- गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीको आन्दोलनका क्रममा भड्किएको हिंसाका विषयमा सदनमा जवाफ दिएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले तीनकुने घटनाका सम्बन्धमा उठाएका प्रश्नहरूको जवाफ दिएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकले गरेको प्रर्दशनका क्रममा विध्वंशात्मक घटनालाई सरकारले गभ्मीरतापूर्वक लिएको उनको भनाइ थियो। उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री लेखकले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर पूर्वाग्रह नराखी अनुसन्धान र अभियोजनको कार्य भइरहेको बताएका हुन्।
‘संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र संघीय लोकतान्तिक गणतन्त्रामक अधिकारको निर्बाध उपयोग गर्न पाउने वातावरणको निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ,’ उनले भने। संविधानविरोधी गतिविधि सह्य नहुने मन्त्री लेखकको भनाइ छ।
घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रुपमा आतंक र अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै नसक्ने उनको भनाइ छ। ‘आफ्ना असहमतिहरु शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ,’ लेखकले भने।


