नवलपुर- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपले पाचौँ होटल सञ्चालनमा ल्याएको छ। नवलपुरको गैडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा ल्याएसँगै ग्रुपको लगानीमा बनेर सञ्चालन हुन थालेका होटलको संख्या ५ पुगेको हो। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डबाट होटल इलाको औपचारिक उद्घाटन गराइएको हो।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको इलामा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन्।
केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमि सहितका सम्पदाको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास ग्रुपको छ।
आईएमईले यसअघि माघ १९ गते बागलुङमा इला होटलको औपचारिक उद्घाटन गरेको थियो। काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, काठमाडौंकै लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट पनि सञ्चालनमा छन्। आईएमई ग्रुपले सात वटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए। उनले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमूनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताए। मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताए। उनले संस्कृति, पर्यटन तथा हवाई नीति छिटै परिमार्जन गर्ने बताउँदै यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे।
मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै भएको र त्यसैअनुसार पर्यटन पूर्वाधारहरू निर्माण गर्ने क्रममा आईएमई ग्रुप जुटेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। आईएमई हस्पिटालिटीले मुलुकका सात वटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजना अगाडि बढाइरहेको पनि उनले बताए।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन्। बागमतीमा चन्द्रागिरि, रुपन्देही-पाल्पामा लुम्बिनी केबलकार र गण्डकीमा मौलाकाली सञ्चालनमा छन्।
लुम्बिनी केवलकारको टप स्टेसन पाल्पाको बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ। सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको ढकालले बताए। कैलालीमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ। त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा ल्याउने उनको योजना छ। त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम अगाडि बढाइरहेको छ।
‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ। नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले बताए, ‘आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन। यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो।’


