काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताएका छन्। मंगलबार बालुवाटारमा सिनेपाः चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहमा उनले यस्तो बताएका हुन।
‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियाे। चलचित्र विकास कम्पनी त्यसको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ’, ओलीले भने, ‘ त्यसम्बन्धी मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यू यहीँ हुनुहुन्छ। हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइ हाल्नुहोला। के भएको छ, हामी खोज्छौँ। यदि कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्याएर कन्ट्रोलमा ल्याउँछौँ।’
प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको समेत बताए।


