काठमाडौँ- प्रतिपक्षी सांसदले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खोजेपछि बैठक नै स्थगित भएको छ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित हुनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गरेका हुन्।
सगरमाथा संवादको कार्यक्रममा भएका कारण अर्थमन्त्री पौडेल उपस्थित हुन ढिलाइ भएको भन्दै सभामुखले बैठक अघि बढाउन खोजेका थिए। तर पाण्डेले प्रश्न राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
यसअघि बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले आफूहरूलाई औपचारिक रूपमा विद्रोहमा जाऊ भनिदिन आग्रह गरेका थिए। सरकारले संविधानमा भएको प्रावधान विपरीत आस्थाका आधारमा अपमानपूर्वक प्रहरी खोरमा राख्ने र बलपूर्वक पक्राउ गरिरहेको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए।
‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको छ। दुई महिनादेखि रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई राजसंस्था मान्छु, हिन्दुराष्ट्र मान्छु, संघीयता मान्दिन भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ,’ लिङ्देनले भनेका थिए, ‘आस्थाका आधारमा एक पछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई सभामुखमार्फत औपचारिक रूपमै सरकारले भन्दियोस् राजा मान्छु भन्ने, हिन्दुराष्ट्र चाहिन्छ भन्ने र सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ जङ्गल पस्।’


