काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शर्माले शुक्रबार सभापति देउवासँग भेट गरेका हुन्।
भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको शर्माले जानकारी दिएका छन्।
‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल,’ शर्माले फेसबुकमा लेखेका छन्।
गभर्नर नियुक्तिका विषयमा नेपाली कांग्रेसले राखेको अडानप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरिरहेका बेला शर्माले देउवालाई भेट गरेका हुन्।
आफूले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गर्न खोजेको तर आफूलाई व्यवधान गरिएको आरोप ओलीले जेठ १ गते लगाएका थिए। त्यसको भोलिपल्टै जनार्दनले देउवालाई भेट गरेका हुन्।
ओली नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन चाहन्छन्। तर देउवा भने आफ्नो दलको भागमा गभर्नर परिसकेको र त्यसमा ओलीसमेत सहमत भइसकेको भन्दै आफूहरूको सिफारिसका आधारमा नै गभर्नर नियुक्त हुनुपर्छ भन्ने अडानमा छन्।
देउवाको सिफारिस मान्न नसकिने भनेर ओलीले प्रष्ट रूपमा बोल्न सकेका छैनन्। तर असन्तुष्टि भने व्यक्त गर्न थालिसकेका छन्।
माओवादी केन्द्रका नेताहरूमध्ये जनार्दनको सम्बन्ध देउवासँग अलि निकट भएको विश्लेषण हुने गरेको छ। यसअघि माओवादी केन्द्र र नेपाली कांग्रेसहितको गठबन्धन बनाउने बेलामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दनलाई देउवासँग कुराकानी गर्न पठाएका थिए।
उता गैरआवासीय नेपाली संघ (एनआरएनए)मा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजू राणा देउवाको झगडा सतहमा नै उत्रिएको छ। वैशाख २१ गते सम्पन्न एकता महाधिवेशनपछि एउटै क्याबिनेटका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनएलाई रणमैदान बनाएका हुन्।
एकता महाधिवेशनले निर्विरोध निर्वाचित गरेका अध्यक्ष महेश श्रेष्ठलाई ठाडो चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओली नै एकता महाधिवेशन बहिष्कार गरेको बद्रि केसी समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भएर गइदिएपछि आरजू र ओलीको झगडा सतहमा निस्किएको हो।


