काठमाडौँ- यातायात व्यवस्था विभाग मीनभवन काठमाडौँमा कार्यरत प्रहरी जवान नरेश याम्फु राई वैशाख महिनाको ‘वेस्ट ट्राफिक पुलिस अफ दि मन्थ’बाट सम्मानित भएका छन्।
ट्राफिक प्रहरी प्रभाग गौशालामा दरबन्दी भई हाल मीनभवनमा कार्यरत उनलाई विभागीय नीति, निर्देशन पालनाका साथ उल्लेखनीय योगदान पुर्याएको आधारमा प्रदान गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको हो।
विभागमा हुने बिचौलियाको गतिविधि न्यूनीकरणमा भूमिका खेलेका उनले विभाग र ट्राफिक प्रहरीबीचको समन्वयलाई प्रभावकारी बनाएका छन्।
साथै, सवारी चालक अनुमतिपत्र सम्बन्धी अनुसन्धान कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै, नक्कली लाइसेन्स पहिचान गर्न ढड्डा हेरेर तुरुन्त आवश्यक कारवाही अघि बढाएका थिए।
यस्तै, हिट एड रन घटनामा संलग्न सवारी चालकको खोजतलासमा पनि उनले सघाउ पुर्याएका छन्।
रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागबीचको अन्तरसंस्था समन्वयलाई सुदृढ गर्दै उनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाएका थिए।
