चितवन- चितवनको खैरहनीमा शुक्रबार बिहान सबेरै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका-२, ज्यामिरे चोकमा यात्रुवाहक बस र कार एकआपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बिहान करिब १:४५ बजे उदयपुरबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी कार चालक खैरहनी नगरपालिका-८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका तिमिल्सिनालाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको थियो।
तथापि, उपचारका क्रममा बिहान ३:०५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीले दुर्घटनाग्रस्त बस र बसका चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।


