काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि यो आदेश सुनाएको हो।
२०८२ वैशाख ७ गते रवि लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो।
बुधवार भने संवैधानिक इजलास बसेको र त्यसमा सुवेदी पनि सहभागी हुनुपर्ने तथा ढकालको पनि अर्कै इजलास तोकिएपछि सुनुवाइ भएको थिएन।
रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए।
यसअघि यो मुद्दा पटकपटक हेर्न नमिल्नेमा पर्दै सुनुवाइ रोकिँदै आएको थियो।
सोमवार हेर्न नमिल्नेमा परेको भन्दै सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको थियो।
आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उनको रिट हेर्न नमिल्नेमा राखेको थियो।
रविको रिट २०८२ वैशाख ८ गते हरिप्रसाद फुयालको इजलासमा परेको यो मुद्दा पहिलो पटक हेर्न नमिल्नेमा परेको थियो।
२०८२ वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारणदेखाउ आदेश गरेको थियो।
२०८२ वैशाख २८ गते सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको मुद्दा फेरि पनि हेर्न नमिल्नेमा पर्न गयो।
२०८२ वैशाख ३० गते हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले पनि हेर्न नमिल्ने मा यो मुद्दालाई राखेको थियो।
यस्तै २०८२ वैशाख ३१ गते नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले फेरि हेर्न नमिल्नमा राख्यो ।
२०८२ जेठ ४ गते डा मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा परेको यो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो।
०८२ जेठ ५ गते प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासमा परेको यो रिटको सुनुवाइ हेर्न नमिल्ने भएपछि पुन स्थगन भएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय, रुपन्देही जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई यो मुद्दामा विपक्षी बनाइएको छ।
सहकारी ठगीको आरोपमा रवि लामिछाने यतिवेला रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन्।


