काठमाडौँ- भिजिट भिसामा विदेश जाने नेपालीसँग चर्को रकम घुस लिने कामका लागि सेटिङ मिलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपबारे केही दिनमा बोल्ने बताएका छन्।
शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। केही दिन चुप लागेर बसेको थिएँ। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजी राखेको थिएँ,’ उनले जिकिर गरेका छन्, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुईचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’
उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ।’
आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए।
शनिबार मात्रै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्।
‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ,’ उनले भने ।
उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताएका थिए।


