काठमाडौं: गभर्नर बन्ने दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ। राजीनामा अस्वीकृत भएपछि भट्टलाई गभर्नर कार्यालयमा जिम्मेवारी दिइएको छ।
‘नयाँ गभर्नर विश्वनाथ पौडेल सरले उहाँलाई फकाएर काममा फर्कने वातावरण मिलाउनुभयो। एक हिसावले भन्दा भट्ट सरलाई न्याय गर्नुभयो’ राष्ट्र बैंकका एक उच्चस्तरीय कर्मचारीले नेपाल क्लिक्ससँग भने, ‘उहाँ अब काममा फर्कनुहुनेछ।’
गभर्नर विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारीमा फर्काएका हुन् ।
यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई पौडेलले गभर्नरको कार्यालय ल्याएपछि रिक्त रहेकाे अनुसन्धान विभागमाकाे नेतृत्व डा. रामशरण खरेललाई दिइएकाे छ।
यसअघि मानव संशाधन विभागमा रहेका खरेललाई अनुसन्धान ल्याएपछि खाली भएको विभागको जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ।
नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न मानिनन्। राजीनामा स्वीकृत नभएपछि भट्ट गभर्नर हुन पाएका थिएनन्।


