काठमाडौं: यस वर्ष नेपालमा मनसुन औसत मिति (जुन १३ तारिख)भन्दा अगाडि भित्रने भएको छ। भारतमा सरदरभन्दा एक साताअघि मनसुन प्रवेश गरेसँगै नेपालमा पनि एक साता छिटो मनसुन प्रवेश गर्दै छ। मौसम विज्ञान विभागले भिडिओ सन्देश जारी गर्दै यही १८ जेठदेखि ४ असोजसम्म चार महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना देखिएको जानकारी दिएको हो।
भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्छ। तर, यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् १० जेठमै भित्रिएको छ। भारतको केरलामा यस वर्ष मनसुन औसत मिति ३० मेभन्दा ६ दिनअघि नै २४ मे (१० जेठ) मै भित्रिसकेकाले नेपालमा औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्नेछ।
विभागका मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार मध्य जेठदेखि मध्य असोजसम्मको अवधिलाई मनसुन अवधि भनिन्छ। मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ। अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि–मनसुन चलिरहेको छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ। यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिना रहन्छ।
एल–निनो कि ला–निनो ?
दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘एल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘एल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ।
उष्णदेशीय (उष्णकटिबन्धीय) प्रशान्त भूमध्य क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना एल–निनो हो। यो परिवर्तनका कारण तापक्रम सामान्यभन्दा ४ देखि ५ डिग्री सेल्सियस बढी हुनसक्ने मौसमविद्हरू बताउँछन्।
‘एल–निनो’को ठीक उल्टो ‘ला–निनो’ हो। अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ। यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । यस वर्ष ला–निनोको प्रभाव बढी देखिन्छ। त्यसैले दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) र अन्तर्राष्ट्रिय विज्ञहरूसमेतको सहभागितामा दक्षिण एसियाली देशहरूको मनसुन प्रक्षेपण गरिएको थियो । सोहीअनुसार गत महिना मात्रै सास्कोफले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी पनि अत्यधिक बढ्ने प्रक्षेपण गरिसकेको छ।
सरदर वर्षा भनेको के हो ?
कुनै पनि ठाउँको सरदर वर्षा थाहा पाउन ३० वर्षको पानी परेको तथ्यांक अध्ययन गर्नुपर्छ। यसलाई टर्साइल क्याटागोरी भनिन्छ। यसका लागि ३० वर्षभन्दा लामो हरेक सालको वर्षालाई थोरैदेखि धेरैको क्रमलाई मिलाएर राखिन्छ। ३३ दशमलव ३ र ६६ दशमलव ६ प्रतिशतले टुक्र्याई ३ बराबर भागमा विभाजन गरिन्छ। ३३ दशमलव ३ प्रतिशत वा त्यसभन्दा थोरै पानी प¥यो भने सरदरभन्दा कम पानी परेको भनिन्छ।
३३ दशमलव ३ प्रतिशतदेखि ६६ दशमलव ६ प्रतिशतबीचमा पानी पर्यो भने सरदर पानी परेको भनिन्छ। त्यसैगरी, ६६ दशमलव ६ प्रतिशतभन्दा बढी पानी प¥यो भने सरदरभन्दा बढी पानी परेको भनिन्छ। मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार यस वर्ष मनसुनमा तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ। सरदरभन्दा बढी पानी पर्ने र तापक्रम पनि बढी हुने भएकाले यसको असर धेरै क्षेत्रमा पर्ने देखिन्छ। यसले सरदरभन्दा बढी वर्षा हुँदा बाढी आउने तथा पानी जम्ने समस्याले कृषिमा असर हुन सक्छ । बालीमा लाग्ने रोग बढ्न सक्छ । बढी तापक्रमको असर पनि बालीनालीमा पर्न सक्छ।
यसैगरी, सरदरभन्दा बढी पानी पर्दा मलेरिया, डेंगी, हैजा, झाडापखालाजस्ता रोग फैलिन सक्ने भएकाले यसले स्वास्थ्यमा पनि असर गर्नसक्छ । सरदरभन्दा बढी तापक्रमका कारण वृद्ध, बालबालिकाहरूमा गर्मीको असर पर्न सक्छ। त्यस्तै सरदरभन्दा बढी पानी पर्नाले नदीनालामा बाढी आउन सक्छ भने सरदरभन्दा बढी पानी पर्दा सडक, पोल पूर्वाधारमा क्षति हुन सक्छ। ठूलो पानी र बाढीले यातायात प्रभावित हुनसक्छ । यी कारणले विपद्का घटना बढ्न सक्छन् । यसैले यस वर्ष मनसुन अवधिमा बढी सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
कुन–कुन प्रदेशमा छ सरदरभन्दा बढी वर्षाको सम्भावना ?
खनालका अनुसार सरदरभन्दा बढी पानी पर्ने सम्भावना कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा देखिएको छ। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग, बाग्मती र कोशी प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । मधेश प्रदेशको समतल भूभागमा सरदर वर्षा हुने सम्भावना छ।


