काठमाडौँ- कर नतिरेका २१ वटा कम्पनीलाई मध्यस्तरीय करदाता कार्यालयले १५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ। तोकिएको समयसीमाभित्र आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तिरेर नआए कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ।
कर नतिर्ने कम्पनीहरूमा श्री लालीगुराँस बहुद्देश्यीय सहकारी, शिखरदीप बहुद्देश्यीय सहकारी, माउन्ट एभरेष्ट ब्रुअरी, सान्भी इन्टरनेशनल, विशाल सिमेन्ट, पोखराको सेलवेज डिपार्टमेन्टल स्टोर र गोरखा डिपार्टमेन्टल स्टोर प्रमुख छन्। यीमध्ये कतिपय सहकारी संस्था समस्याग्रस्तको सूचीमा समेत परेका छन्।
त्यसैगरी, डिभाइव ट्रिम नेटवर्क, मस्टा ग्रुप, दानीखोले इन्टरप्राइजेज, एड्भान्स केमिकल इन्डष्ट्रिज, भुसाल केवल एण्ड वायर इन्डष्ट्रिज, लोकेन्द्र इन्टरप्राइजेज, स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इञ्जिनियरिङ, श्यामबाबा राइस एण्ड फ्लोर मिल, चजियाङ्ग हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ, बज्रयोगिनी हार्डवेयर, गुआंग्डोंग युवानियन रमन ज्वाइन्ट भेञ्चर, एसएनजी एग्रो र बज्रगुरु कन्स्ट्रक्सन पनि बक्यौता कर तिर्न बाँकी रहेका कम्पनीहरूको सूचीमा छन्।
बक्यौता असुलीका लागि टेलिफोन सम्पर्क, ताकेता, संकलन भ्रमण, छलफल तथा पत्राचारजस्ता उपाय विभिन्न मितिमा अपनाइए पनि अहिलेसम्म सकारात्मक प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ। कार्यालयले अब कानुनी प्रक्रियाबाट कर असुल गर्ने जनाएको छ।


