जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशका ८ जिल्लामा निर्माण हुन लागेका ६४ वटा सडकको एकैसाथ शिलान्यास गर्ने भएका छन्।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट प्रधानमन्त्री ओलीले ती सबै सडकहरूको डिजिटल माध्यमबाट शिलान्यास गर्ने भएका हुन्।
सडक निर्माण कार्य प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले अगाडि बढाउनेछ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा एक-एक वटा सडक पर्ने गरी योजनाहरू तयार पारिएको मन्त्रालयले जनाएको छ।
ती सडकहरू बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिनेछन्। आगामी तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर शिलान्यास गरिएको हो।
प्रधानमन्त्री ओली यसअघि २०७७ सालमा पनि बालुवाटारबाट डिजिटल माध्यममार्फत देशभरका ३ सयभन्दा बढी स्थानीय तहमा झन्डै ४ सय आधारभूत अस्पताल उद्घाटन गरेका थिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरिएको तीमध्ये धेरैजसो अस्पतालको निर्माण अझै शुरू हुन सकेको छैन।
यसअघिको घोषणाहरूको कार्यान्वयन अवस्था कमजोर देखिएकाले ओलीले शिलान्यास गरेका सडक परियोजनामा काम हुने कुरामा प्रश्न उठ्ने गरेका छन्।


