काठमाडौँ- यातायात व्यवसायीको आन्दोलनका कारण सोमवार देशभरका सार्वजनिक यातायात ठप्प भएपछि प्रहरीको निगरानीमा केही सवारी साधन चलाइएको छ।
‘राइड सेयरिङ’को विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमवारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि प्रहरीको सहयोगमा साझा यातायातले सेवा दिएको हो।
सार्वजनिक यातायात बन्दको प्रभाव देशभर परेको छ भने सार्वजनिक यातायात नहुँदा आम सर्वसाधारण मर्कामा परेका छन्।
दैनिक कामकाजका लागि सार्वजनिक यातायात प्रयोग गर्ने र यात्रामा रहेका सर्वसाधारण समस्यामा परेका बेला आम जनताको यात्रालाई सहज बनाउन प्रहरीको सुरक्षासहित यातायात संचालन गरिएको छ।
साझा यातायातले प्रहरी सुरक्षामा काठमाडौं उपत्यकामा ४० वटा बस गुडाइएको जानकारी दिएको छ। जानकारी अनुसार प्रत्येक गाडीमा २ जना प्रहरीले हतियारसहित पहरा दिएका छन्।
पोखरा र कुश्मामा अज्ञात समूहले साझाको बस तोडफोड गरेकाले हाल ललितपुर र काठमाडौं प्रहरीसँग समन्वय गरेर बस चलाइरहेको साझाले जनाएको छ।
साझा यातायातले विभिन्न ८ वटा रुटमा बस सञ्चालन गर्दै आएकोमा सार्वजनिक यातायात व्यवसायीले यातायात बन्द गरे पनि ५ वटा रुटमा साझा यातायातले बस सञ्चालन गरिरहेको छ।
लगनखेल–गोगंबु बसपार्क, लगनखेल–बूढानीलकण्ठ, गोदावरी– रत्नपार्क, थानकोट–एयरपोर्ट र थानकोट–बुढानीलकण्ठ रुटमा बस सञ्चालन भइरहेको छ।
असुरक्षाका कारण लामाटार–रत्नपार्क, लेले–जमल र बुङमती–जमल अहिले सञ्चालनमा छैन। प्रहरीसँगको समन्वयमा यी रुटमा पनि बस सञ्चालन गर्ने तयारीमा साझा रहेको बताइएको छ।


