काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र न्यु रोड टिम (एनआरटी)ले जित निकालेका छन्। आइतबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले आफ्नो पुरानो प्रतिद्वन्दी थ्री स्टार क्लबमाथि १–० को जित दर्ता गराएको हो।
मनाङले सात खेलअघि त्रिभुवन आर्मी क्लबलाई १–० ले हराएपछि उसले लगातार सात खेलमा बराबरी गरेको थियो। तर नौ खेलबाट अपराजित यात्रा भने कायम गरिरहेको छ। पछिल्लो पटक उसले चर्च बोइजसँग ३–० को हार बेहोरेपछि हारेको थिएन।
आज थ्रिस्टारविरुद्ध जित निकाल्ने क्रममा मनाङका चेतन कुमार थारुले निर्णायक गोल गरेका हुन्। उनले ३८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
छैटौं जितसहित मनाङले २२ खेलमा २८ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ। यता थ्री स्टार भने २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा छ।
त्यस्तै, आजै भएको अर्को खेलमा एनआरटीले च्यासल मैदानमा सातदोबाटो युथ क्लबलाई २–१ले हराएको छ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा तिनै गोल भएका थिए। खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६७ औं मिनेटमा सनमले गोल गर्दै एनआरटीलाई दुई गोल को अग्रता दिलाए।
खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले एक गोल फर्काएपछि खेल २–१ भएको थियो। तर बराबरी वा जितका लागि थप गोल गर्न सकेन।
लिगको आठौं स्थानमा रहेको एनआरटीको यो सातौं जित हो। उसले २२ खेलमा २९ अंक जोडेरको छ। यता पराजित सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा छ।
