मार्च २१ होस् या ज्येष्ठ २१ होस् गाउँसहर जहाँतहीँ जातीय विभेद, विसङ्गतिविरुद्ध विभिन्न खालका उत्सव, नारा र जुलुस भए। आफ्ना हकअधिकार सुनिश्चितताको माग गर्दै आवाज बुलन्द गरेर बाटोचौबाटोमा हातमा हात र काँधमा काँध लिएर तछाडमछाड गर्दै दौडिरहे। नेपालको सर्वाङ्गीण विकासमा दलितका साथै उपेक्षित वर्ग, समुदाय, जनजाति, सीमान्तकृत सम्पूर्णको विकास हुनु जरुरी छ। दलित आफूमा दलित होइन, उनीहरूको सीप, संस्कार र चालचलनले उसलाई दलित भनेर हेलाहिंसा गर्ने परिपाटी हाम्रो समाजमा विद्यमान छ। दलित हुनु पूर्वजन्मको पाप पनि त होइन, तर खास प्रकृतिको सीपमूलक काम गरेकै आधारमा दलितको संज्ञा भिराइने गरिन्छ, चाहे त्यो सम्बन्धित व्यक्तिले गरोस् वा उसका पितापुर्खाले मात्र गरेको किन नहोस्!
वि .सं .२००७ सालको जनक्रान्तिसँगै सामाजिक स्तरमा जातीय छुवाछुतविरुद्ध आन्दोलन भएको पाइन्छ। त्यो क्रान्तिको अभियानसँगै कानुनी रूपमा वि .सं .२०२० सालमा मुलुकी ऐन लागू भएपछि मात्र कानुनतः सामाजिक भेदभाव र छुवाछुत प्रथाको अन्त्य भएको हो। तर पनि हालसम्म आइपुग्दा जातीय भेदभावको अन्त्य हुन सकेको छैन।
गैरदलित र दलितमा हुने विभेद त छ नै दलितभित्रै पनि सानो र ठूलो जातका आधारमा विभेद छ। यसरी विभेदमा परेकाहरू आफैँभित्र थप अर्को विभेद शृंखला बनाएर उपेक्षित भइरहनुपरेको छ। उच्च घरानाका धनीमानी जातिले गरिब र सानो जात भनेर छिछि दूरदूर गर्ने समूह/व्यक्तिमा स्वयं दलित पनि नभएका होइनन्। दलितभित्र पनि ‘दलितका उच्च धनीमानी बाहुनहरू’ रहेकाले दलितका मुद्दा ज्युँका त्युँ छन्। पेसागत दृष्टिकोणले पनि सानो खालका रोजगारी, दैनिक मजदुरी गर्ने, सहज अरूले विश्वास गर्न नसक्ने भएका कारण पनि दलित आफैँमा उपेक्षित हुनु पर्ने अवस्था छ। तर अहिले दलितमा रोजगारी, सफासुग्घर, आनीबानीमा सुधार, विभिन्न सङ्घसंस्थामा संलग्न, राजनीतिक छवि उच्च भए तापनि दलित-दलितको भेदभावले भने दलितलाई माथि उठाउन दिइरहेको छैन।
दलितलाई अन्य गैरदलित जातिले भेदभाव गर्ने भन्दा पनि दलितले नै हेला र दूरदूर गर्नु बढी पीडादायी देखिन्छ। जसको दूरी मात्र उच्च कोटीको धनी दलित र निम्न स्तरको गरिब दलित हो। तर पनि दलित तथा उपेक्षित जातिहरूले अपेक्षा गरे अनुरूप प्रतिफल एवं सुधारको अनुभूति गर्न सकिरहेका छैनन्। यस्तो खालको स्थिति रहनु मुख्य कारण दलितभित्र पनि छुवाछुत र विभेद हुनु हो। दलित एवं उपेक्षित जातिहरूमा दिने कार्यक्रमहरूमा दिगोपन नहुनु, राजनीतिक खिचातानीमा रुमलिनु, गैरदलित भनेर सही पहिचान लुकाउनु वा नाम थर ढाँट्नु, दलितलाई आएका कार्यक्रमको सही अनुगमन र सुपरीवेक्षण नहुनु पनि यसका कारण हुन्। यस्ता खालका कमीकमजोरीलाई हटाई एक आपसमा भाइचारा र विकास एवं जातीय संरक्षणमा लाग्नु पर्दछ। परम्परा, धर्म, संस्कृति, प्रथा, जातिगत नाममा दलितलाई समावेश नगराएको धेरै नै देख्न र भोग्न पाइन्छ साथै बोक्सीका आरोपमा घरदेखि बहिष्कार हुनु, सानो जात भनी पानी पनि नछुने बनाइनु, मठमन्दिर जस्ता सार्वजनिक सम्पदाका क्षेत्र प्रवेशमा रोक लगाउने खालका प्रवृत्ति पनि अनगिन्ती छन्।
अहिले दलितमा रोजगारी, सफासुग्घर, आनीबानीमा सुधार, विभिन्न सङ्घसंस्थामा संलग्न, राजनीतिक छवि उच्च भए तापनि दलित-दलितको भेदभावले भने दलितलाई माथि उठाउन दिइरहेको छैन।
प्रजातन्त्रको स्थापना र त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनमा दलितहरूको बलिदानीपूर्ण योगदान छ। ती अभियान र आन्दोलनहरुको प्रतिफल लिनमा पनि टाठाबाठा दलितहरू नै अगाडि देखिन्छन्।
माथि उल्लेखित शीर्षकले बाहुनहरू वा अन्य जातिलाई नराम्रो वा भ्रमित पार्न खोजेको होइन, परापूर्वकालदेखि नै ‘बाहुन’ भन्ने बित्तिकै उपल्लो जात भनेर चिनिने भएका कारण मात्र उल्लेख गर्न खोजिएको हो। दलितभित्रै समेत ठूलो जात र सानो जात वा पानी चल्ने वा नचल्ने भनी हुने गरेको जातीय भेदभावलाई उजागर गर्न ‘दलितभित्रका बाहुनहरू’ भनिएको हो।
यसै सन्दर्भमा एक प्रसंग उल्लेख गरौँ। रमा वि.क. (नाम परिवर्तन) विगत १ वर्षदेखि बजारमा बसेर अध्ययन गर्दै आइरहेकी छिन्। उनको घरधनीले दलित भन्ने थाहा पाएपछि घरबाट नै निकालिदिए। ‘पहिले मैले नाम ढाँटेर बहालमा बसेँ। एक दिन मेरा बा मलाई भेट्न आउनुभयो। घर भाडा दिँदा म विश्वकर्मा हो भनेर भन्नुभयो। घरधनीले पछि बा गएको २ दिनमा घर खाली गर भनेर धम्काए,’ उनले दुखेसो गरिन्।
यस्तैगरी सुजिता नेपाली (नाम परिवर्तन) ३ वर्षदेखि एक एनजीओमा काम गर्छिन्। काम गर्ने अफिसमा नै बस्ने गर्छिन्। उनी बस्ने घरबेटी बाहुन हुन्। उनको घरबेटीसँग राम्रो सम्बन्ध छ। सँगै बसेर नास्ता समेत खान्छन्। उनीसँगै काम गर्ने संस्थामा अन्य जातिहरू पनि जागिर खान्छन्। ‘हामी स्टाफ मिटिङ सकेर खाजा खान थाल्यौँ, घरबेटी मन्दिर गएर आउनु भएको रहेछ सबैलाई टिका र प्रसाद दिनु भयो। तर मलाई न टिका लगाइदिनु भयो न त प्रसाद नै। मलाई अचम्म लाग्यो। पहिले सँगै बसेर खाजा खान्थ्यौँ तर आज किन यस्तो गर्नु भयो दिदीले थाहा नै भएन। पछि बुझ्दा त थाहा भए छ कि म दलित भनेर अरू साथीले भनिदिएछन् र नदिनु भएको रहेछ।’
अधिकारकर्मी र समाजसेवीले पनि राजनीतिको खोल ओढ्नाले निरीह, गरिब, असहाय, असक्त जातिप्रतिको भेदभाव भने रोकिन सकिरहेको छैन। झन् झन् भुसको आगो सरी सल्किरहेको छ। सबै उत्पीडित जातिहरू अब एकै ढिक्का हुनु पर्ने भएको छ।
श्यामे दमाई (नाम परिवर्तन) पनि आफ्नै गाउँमा पानीको इनार छोएको निहुँमा कठोर यातना, कुटपिटमा परे। श्यामेके गुनासो छ, ‘बिहान पानी लिन इनार गएको थिएँ। गाग्री इनारमा डुबाउन नपाउँदै सबै गाउँले एकजुट भएर पिटे। मैले किन पानी भर्न नपाउने भनेर बोल्दा उल्टै जाइलागे। तर हाम्रा ठुला बा लाहुरे र समाजसेवी हुन् तर उनलाई रोकावट कतैबाट छैन।’
राजन सुनार (नाम परिवर्तन) २ वर्षदेखि अर्काको घरमा भाँडा माझेर बस्छन्। राजन भन्छन् ‘सधैँ भाँडा माझ्छु तर खाने बेलामा पिँढीमा बसेर खान्छु। भर्याङमुनि सुत्छु। घरभित्र पस्न दिँदैनन्।’
सीता रसाइली (नाम परिवर्तन) १ वर्ष पहिले माथिल्लो जातसँग विवाह गरेकोले उनलाई घरमा नै भित्रिन दिएनन्। उनी भन्छिन्, ‘मलाई जात ढाँटेर विवाह गरेको हो। यो सानो जातकी रहिछ। यसलाई घरमा राख्नु हुन्न। गाउँमा बस्यो भने हाम्रा इष्टमित्र समेत रुष्ट हुन्छन्, त्यो पतिले पनि छाड्यो। मलाई अहिले मर्नु न बाँच्नु भएको छ।’
माथिका आवाजहरूले पीडा बोलेको छ जहाँ धनी र गरिब, सानो जात ठुलो जात, पानी चल्ने र नचल्ने विभिन्न कुराहरूलाई उजागर गरेको छ। राज्यले छुवाछुतलाई कानुनी रूपमा अपराध माने पनि हाम्रो गाउँ घरमा यस्ता घटनाहरू दिनानुदिन बढिरहेका छन्। जातीय भेदभाव तथा छुवाछुत ऐन बने पनि सबै तह र तप्कालाई समेट्न सकिरहेको छैन। आफ्नै जातीमा समेत छुतअछुतको संज्ञा पाउनुले पनि जातीय मुद्दाहरू ओझेलमा परिरहेका छन्। विभिन्न अधिकारकर्मी र समाजसेवीले पनि राजनीतिको खोल ओढ्नाले निरीह, गरिब, असहाय, असक्त जातिप्रतिको भेदभाव भने रोकिन सकिरहेको छैन। झन् झन् भुसको आगो सरी सल्किरहेको छ। सबै उत्पीडित जातिहरू अब एकै ढिक्का हुनु पर्ने भएको छ। दलित, जनजाति, सीमान्तकृत पनि राष्ट्रका सम्पत्ति हुन्। उनीहरूलाई सामाजिक चेतनामा अभिवृद्धि, सीप रोजगार अवसरमा समानता, सामाजिक सद्भाव र समान अवस्था सिर्जना गर्नु जरुरी छ।
