काठमाडौँ- अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्षको असार १० गतेसम्ममा स्थानीय तहले नगर/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी बाध्यता छ। ऐनको व्यवस्थाअनुसार स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीसम्म आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छन्।
तर काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू भने यतिबेला खिचातानीमा छन्। नीति तथा कार्यक्रम र ‘प्रि–बजेट’लगायतका छलफलमा व्यस्त हुनपर्ने देशकै राजधानीसमेत रहेको स्थानीय तह काठमाडौँ महानगर यतिबेला नीति तथा कार्यक्रमबारे छलफल गर्ने बेला पनि हो। तर विगतका वर्ष फर्केर हेर्दा यतिबेला काठमाडौँ महानगरपालिका सुनसान छ।
गत जेठ १ गते महानगर प्रमुख बालेन्द्र शाहले अचानक कार्यपालिकाका चार समितिमा नयाँ संयोजक बनाएपछि बढेको द्वन्द्व कम हुने संकेत गरेको छैन। आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरको बजेटबारे जिम्मेवारलाई नै चासो छैन।
अवस्था यही रहे महानगरले नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउँछ भन्ने अनुमानसम्म कसैले गर्न सकेका छैनन्। त्यसो त माघदेखि काठमाडौँ महानगरको कार्यपालिका बैठक समेत बस्न सकेको छैन।
२०८१ चैत १० गते मेयर बालेनसँग कार्यपालिका बैठक माग गर्दै १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका थिए। हस्ताक्षर नगर्ने बाँकी जनप्रतिनिधिले पनि बारम्बार कार्यपालिका बैठक माग गर्दै आएका छन्। जेठ १९ गते मेयर साहले कार्यपालिका बैठक बोलाएको भनिए पनि बैठक बसेन।
यता प्रत्यक्ष र अप्रत्यक्ष रूपमा व्यक्तिगत भेटघाटमा समेत कार्यपालिका बैठक हुनुपर्ने माग गर्दै आए पनि मेयरले सुनेको नसुन्यै गर्दै आएका छन्।
त्यसो त केही दिन अगाडि मात्र मेयर साहका प्रिय पात्र मानिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाको लागि निलम्बित गरेसँगै महानगरले नयाँ मोड लिएको छ।
मेयरको संयोजकत्वमा हुने बजेट सीमा निर्धारण समितिले हालसम्म सिलिङ नै नदिएकोले बजेट निर्माण प्रक्रिया सुरु हुन नसकेको उपमेयर सुनीता डंगोलको भनाइ छ। बजेटको सीमा निर्धारणको पहल मेयरबाट हुनुपर्ने उनको भनाइ छ। बजेट र योजनाको विषयमा कुनै छलफल नभएको डंगोलको भनाइ छ।
यता महानगरका प्रवक्ता नवीन मानन्धरले सहमतिमा अगाडी बढे अझै पनि बजेट ल्याउन सक्ने सम्भावना भएको बताउँछन्। ‘मुख्य कुरा त कार्यपालिका बैठक बस्न सकेको छैन। बैठक बसे समयमै बजेट ल्याउन गाह्रो छैन,’ उनले भने।


