काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ३१ लाखको भ्रष्टाचार मुद्दा परेपछि काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार (हाल सञ्चार तथा प्रसारण विभागका महानिर्देशक)ले अदालतबाट न्याय हुने विश्वास व्यक्त गरेका छन्।
बुधवार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको विषयमा फेसबुकमा प्रतिक्रिया दिँदै परियारले यस्तो बताएका हुन्।
‘मैले मेरो पेसागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु। अहिले प्रश्न उठेकाले मैले अदालती प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु,’ उनले भनेका छन्, ‘सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।’
बुधवार आयोगले परियारसहित काठमाडौं महानगरपालिकाका निर्देशक रबीनमान श्रेष्ठ, काठमाडौं महानगरपालिकाका निर्देशक शिवराज अधिकारी,काठमाडौं महानगरपालिकाका निर्देशक वसन्त आचार्य, काठमाडौं महानगरपालिकाका निर्देशक नमराज ढकाल, काठमाडौं महानगरपालिकाका सहायक निर्देशक उत्तम दाहाल, काठमाडौं महानगरपालिकाका इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि सोही रकम बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।
काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ।


