काठमाडौँ- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बिरुद्ध अख्तियारमा उजुरी परेको छ। महानगर कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अधिवक्ता युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
“काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन। तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो।
सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,” उजुरीमा भनिएको छ।
सफलले अख्तियारसँग लिफ्ट जडानसम्बन्धी टेन्डर, बोलपत्र, निर्माण कम्पनीको विवरण, स्वीकृति फाइल, भुक्तानी विवरण, बिल, भौचरलगायतका कागजात झिकाएर अनियमितता र भ्रष्टाचारको गहन छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।


