काठमाडौँ- पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्री पौडेलको सोमबार निधन भएको छ। उद्योग तथा श्रममन्त्री र नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका शास्त्रीको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
सक्रिय राजनीतिबाट अलग भएपछि शास्त्री देवघाट बस्न थालेका थिए। देवघाटमा २० दिनअघि मात्र जेठी श्रीमतीको निधन भएको थियो। शास्त्रीका ३ श्रीमती हुन्। २ छोरा र ३ छोरीका बाबु ९० वर्षीय शास्त्रीको पार्थिव शरीरको अन्तिम संस्कार विदेशबाट छोराहरू फर्किएपछि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
जेठो नवीन जर्मनीबाट र कान्छो छोरा ऋषभ जापानबाट आउने तय भएको छ। बुधबार बिहान पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ। उनकी माइली श्रीमती पनि देवघाटमै बस्ने गर्छिन्। कान्छी श्रीमती काठमाडौँमा बस्छिन्।
शास्त्री २०४८ साल र ०५१ सालमा भएको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट विजयी भएका थिए। २०१० मा बनारस पढ्दादेखि नै नेपाली कांग्रेससँग आवद्ध शास्त्री २०१४ सालमा नेपाली कांग्रेसले सुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँचीको अगुवाइ गर्ने नेता थिए।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ८ निमडाँडामा बुवा खेमराज पौडेल र माता साबित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा उनको जन्म भएको थियो। बिपी कोइरालाका अनुयायी शास्त्रीले समाजवादका व्याख्यातासँगै सादगी नेताको पहिचान बनाएका थिए।


