चितवन- भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आवभन्दा कम रकमको बजेट ल्याएको छ।
यसपालि भरतपुर महानगरले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ। यो गत वर्षभन्दा झन्डै १ अर्ब ३६ करोड कम हो।
गत आवमा महानगरले ६ अर्ब ५५ करोडको बजेट ल्याएको थियो।
महानगरको आज भएको १७औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन्।
यसपालिको बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १४ करोड चार लाख, जनसहभागिता/श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।


