काठमाडौँ- पतञ्जलि जग्गा प्रकरणका अभियुक्त पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बयान दिनका लागि विशेष अदालत पुगेका छन्। बुधबार विशेष अदालत पुगेका उनले बयान सुरु भएको विशेष अदालत स्रोतले जानकारी दिएको हो।
नेपालले यसअघि ‘अदातलमा उपस्थित हुन पाउँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए।
‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ नेपालका कानुन व्यवसायीले भने, ‘त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ। अनि उहाँले बयान गर्नुहुन्छ।’
बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूले बताएका छन्। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले नेपालमाथि छानबिन थालेको थियो।


