काठमाडौँ– सरकारले हरेक वर्ष मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको जिकिर गर्दै आएको छ। तर पनि नेपालमा धान उत्पादन वृद्धि भने हुन सकेको छैन। स्वदेशी उत्पादनले देशको माग धान्न नसक्दा धानचामलको आयात हरवर्ष बढ्दै गइरहेको छ।
नेपालले चालु आर्थिक वर्षको ११ महिना(साउन-जेठ) सम्ममा झन्डै ३८ अर्ब ९४ करोड रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। गत वर्षको ११ महिनामा सो अवधिमा २१ अर्ब १२ करोड रुपैयाँ बराबरको धानचामल मात्र आयात भएको थियो। यो वर्ष झन्डै दोब्बर रकमको धानचामल आयात बढेको तथ्याङ्कले देखाएको हो।
चालु आवको ११ महिनामा २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ। यो धान आयात गर्न २१ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्ष सोही अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो।
यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको ५ करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ। गत वर्ष सो अवधिमा ८ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो। विभागका अनुसार यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको छ।
धानचामलको आयात वृद्धि हुने क्रम तीव्र बनेको मात्र छैन, धानको बिउका लागि समेत परनिर्भर बन्नु परेको छ। बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु आवको ११ महिनामा एक अर्ब २० करोड रुपियाँ बराबरको तीन हजार मेट्रिक टन धानको बिउ आयात भएको छ।
मुलुकमा वार्षिक एक सिजनका लागि २० हजार मेट्रिक टन धानको बिउ आवश्यक पर्नेमा २ हजार पाँच सयदेखि ३ हजार मेट्रिक टन बिउ आयात हुने गरेको केन्द्रले जनाएको छ। आयात हुने ९० प्रतिशत बिउ हाइब्रिड हो। हरेव वर्ष नेपालका कृषकले विदेशी बिउ लगाउने क्रम २८ प्रतिशतका दरले बढेको बढ्यै छ।
भन्सार विभागका महानिर्देशक प्रकाश सन्जेलले नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलको उपभोग बढेकाले आयातमा बढी हिस्सा देखिएको बताउँछन्। भारत सरकारले निर्यातमा कर घटाएका कारणले पनि धानचामलको आयात बढी भएको उनको भनाइ छ।
हाल नेपालमा एक लाख १० हजार हेक्टर क्षेत्रफलमा ६-८ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। आगामी आवको बजेटमार्फत दुई वर्षभित्रमा चैते धानको उत्पादन बढाएर आत्मनिर्भर बन्ने महत्वाकांक्षी कार्यक्रम घोषणासमेत गरिएको छ।
हरेक वर्ष असार १५ मा मन्त्रीदेखि प्रधानमन्त्री मात्र नभएर राष्ट्रपतिसमेतले हिलेजात्रा प्रदर्शन गर्छन्। तर देश धानचामलमा परनिर्भर बनेको बन्यै छ। विदेशी बिउबिजनको प्रयोग बढिरहेको छ। मौलिकता हराएको हरायै छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि हिलेजात्रा देखाएका छन्। राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रोपाइँ गरेका छन्। थुप्रै स्थानमा रोपाइँका कार्यक्रम भएका छन्।


