काठमाडौँ- अत्यधिक ट्राफिक जाम हुने काठमाडौँ कोटेश्वर चोकमा ओभरपास र हाफकट सुरुङ बनाउने तयारी गरिएको छ।
जापानको सरकारी एजेन्सी (जाइका) यो परियोजनामा ऋण लगानी गर्न तयार भएकाले ऋण सम्झौताको तयारी अघि बढाइएको भौतिक पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ।
कोटेश्वर चोकमा दुई ओभरपास र एक हाफकट सुरुङ(केही हिस्सा जमिनभित्र र केही हिस्सा जमिनबाहिर हुने गरी बनाइने सुरुङ) बनेपछि यहाँ जामको समस्या कम हुने विश्वास सरकारको छ।
‘पूर्वतयारी सर्वेक्षण’ अनुसार जग्गा अधिग्रहण र परियोजना निर्माणका लागि ३९ अर्ब लगानी चाहिने प्रारम्भिक अनुमान जाइकाको छ। परियोजना निर्माणका लागि जाइकासँग सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको सडक विभागका प्रवक्ता इन्जिनियर प्रभातकुमार झाले जानकारी दिए।
जाइकासँग ऋण सम्झौता भएपछि सडक विभागले डिजाइन परामर्शदाता छनोट गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेछ। डीपीआर बनेपछि परियोजनाअन्तर्गत बन्ने संरचनाहरू टुंगो लाग्नेछन्।
कोटेश्वर उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको संगमस्थल पनि हो। काठमाडौंबाट अरनिको राजमार्ग, बीपी राजमार्गसहित पूर्वी नेपाल आवतजावत गर्ने सवारीसाधन यहीँबाट बाहिरी–भित्रिनुपर्छ। त्यसले गर्दा कोटेश्वर क्षेत्रमा अत्यधिक मात्रामा ट्राफिक जाम हुने गरेको छ।
यद्यपि, लागत अनुमान महँगो भएकाले अन्तिम टुंगो भने डीपीआरमार्फत लाग्ने प्रवक्ता इ झाले बताएका छन्।
जाइकाले बुझाएको पूर्वतयारी सर्वेक्षणअनुसार मनोहराबाट त्रिुभवन अन्तर्राष्ट्रिय एयरपोर्टसम्म ओभरपास बनाउने प्रस्ताव गरिएको छ। भने एयरपोर्ट विन्दुमा भने ‘हाफकट टनेल’ गरिएको छ।
एयरपोर्टको धावनमार्गअघि एप्रोच लाइट राखिएका जमिनमुनि सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ। त्यहाँबाट तिनकुनेको बागमती पुलसम्म पुनः अर्काे ओभरपास नै बनाउने प्रस्ताव गरिएको छ। अहिले कोटेश्वर चोकमा रहेका अधिकांश संरचना भने यथास्थितिमा रहने प्रस्ताव गरिएको छ।
संरचनाको वास्तविक स्वरुप भने जाइकासँग ऋण सम्झौता भएपछि छनोट हुने डिजाइन परामर्शदाताले बनाउने प्रवक्ता इ. झाले बताए । आगामी आवमा जाइकासँग ऋण सम्झौता हुने बताइएको छ। परियोजनाको निर्माण कार्य कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा अहिले नै टुंगो भने लागेको छैन।
गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे ओभरपासको उद्घाटन गरेपछि त्यहाँ ट्राफिक जाम हुन छाडेको छ। तर त्यहाँको सवारी चाप अहिले सातदोबाटो र बालकुमारी तथा कोटेश्वरमा स्थानान्तरण भएको छ।


