काठमाडौँ- अमेरिकाले एमसीसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)लाई निरन्तरता दिने निर्णय गरेको छ। एमसीसी अन्तर्गतको एमसीए नेपाललाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको हो।
अमेरिकाले एमसीसीअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको भन्दै एमसीए नेपालले उक्त निर्णयलाई स्वागत गरेको छ।
‘मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ,’ बुधबार एमसीए नेपालले विज्ञप्ति जारी गरी भनेको छ।
विद्युत् प्रसारण लाइननिर्माण तथा सडकविस्तारका लागि ५५ अर्ब रुपैयाँ बराबरको सहायता रकम प्रदान गर्नका लागि अमेरिकाले नेपालसँग सम्झौता गरेको थियो। नेपालको संसदलेसमेत अनुमोदन गरेको उक्त सम्झौताबमोजिम कार्यक्रम सुरु भइसकेपछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएर आए। सरकारको खर्च कटौतीका नाममा अमेरिकाले रोक्का राखेको एमसीसी फेरि सुरु हुने भएको हो।
एमसीए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइएको एमसीए नेपाले जानकारी दिएको छ।
नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध रहेको एमसीए–नेपालले जनाएको छ।


