काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ।
शुक्रबार बसेको राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जानकारी दिएको हो।
काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो।
बैठकमा मेयर साहले जनचाहना अनुरूप विकास निर्माणको कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशनसमेत दिएका छन्।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।
शुक्रवारै बस्ने ४०औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्ने छ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछन्।
बैठकमा राजश्व परामर्श समितिका संयोजक (मेयर), सदस्यहरू, सदस्यसचिव (प्रमुख प्रशासकीय अधिकृत) तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।


