घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको सत्तारुढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पुष्टि गरे। उनले भने, ‘मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको छ।’
मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।
गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।
यसैबीच, राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिरसहित अरु कोही नबनुन् भनेका छन् ।
उनले लेखेका छन्, ‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु।’


